Categories समाचार

जिपि फाउण्डेशनको कार्यालय सञ्चालन हुदै आएको जग्गा वीरगन्ज महानगरको स्वामित्वमा

Advertisement

वीरगन्ज । लामो समयदेखि निजी व्याक्तिले कब्जा गरेको वीरगन्ज १० आदर्शनगरस्थित एक कट्ठा जग्गा वीरगन्ज महानगरपालिकाको स्वामित्वमा आएको छ ।

पर्सा जिल्ला अदालतले १२ बैशाख २०७८ मा गरेको फैसलालाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले पनि सदर गरेसँगै आदर्शनगरस्थित एक कट्ठा जग्गा महानगरको स्वामित्वमा आएको हो ।

Advertisement

किर्ते कागजात खडा गरी मालपोत र महानगरपालिकाका यसअघिका जनप्रतिनिधिदेखि कर्मचारीसमेतको मिलोमतोमा वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैया निवासी नजमा बेगमले उक्त जग्गा आफ्नो नाममा पुर्‍याएकी थिइन् । नजमाले १० चैत २०७४ मा माटो पुर्ने काम सुरु गर्दा जग्गा व्यक्तिको नाममा पुगेको खुलासा भएको थियो । जग्गा बिक्री वा हक–हस्तान्तरणबिना नै व्यक्तिको नाममा दर्ता भएको पाएपछि महानगरका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत डा. भिष्मकुमार भूषालले ३ असार २०७५ मा पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।

Advertisement

पशुपति आदर्शनगर निर्माण समितिबाट महानगरको स्वामित्वमा आएको साविक कित्ता नम्बर ८१७ को हाल नापीमा कायम भएको कित्ता नम्बर १८ र ५३ को एक कट्ठा जग्गा पूर्ववर्ती महानगरको नाममा दर्ता कायम गर्न जिल्ला अदालत पर्साले फैसला सुनाएको थियो ।

पर्सा जिल्ला अदालतको फैसलालाई बदर गर्न माग गर्दै उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा नजमाले दिएको मुद्दामा पनि महानगरकै पक्षमा फैसला आएको हाे । १३ बैशाख २०८० मा उच्च अदालतका न्यायधिशद्वय सुदर्शनदेव भट्ट र सिताराम मण्डलको संयुक्त इजलासले जिल्ला अदालत पर्साद्वारा २०७८ वैशाख १२ गते गरिएको फैसलालाई नै सदर गरेसँगै उक्त जग्गा महानगरको स्वामित्वमा आएको हो ।

नजमाका पती एवं नेपाली कांग्रेस पर्साका नेता महमद सहाबुद्धिनले उक्त जग्गामा पक्की भवन निर्माण गरेर पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति स्वर्गीय गिरिजा प्रसाद कोइरालाको स्मृतिमा स्थापित जिपि कोइराला फाउण्डेशनको कार्यालय सञ्चालन गर्दै आएका थिए ।

महानगरकै पक्षमा फैसला आएसँगै जिपि फाउण्डेशन लेखिएको पर्खालमा रंग लगाएर मेटाइएको छ । साथै सोही जग्गामा उनले नै सञ्चालन गरेको निट्को कम्पनीको टायल्स र मार्बल गोदामसमेत बनाएका छन् । स्थानीयकाअनुसार उक्त जग्गाको बजार मुल्य अहिले झन्डै १० करोड रुपैयाँ बराबर छ ।

लामो रस्साकस्सीपछि महानगरको स्वामित्वमा आएको जग्गामा निर्मित संरचना भत्काएर नगरबासीको हितका लागि जग्गा प्रयोजनमा ल्याउने महानगरको योजना रहेको महानगरका मेयर राजेशमान सिंहले बताए । उनले भने, ‘महानगरको स्वामित्वमा रहेको तथा अन्य सार्बजनिक जग्गा खोज्ने अभियान नै हामिले चलाइरहेका छौँ, अरु पनि कुन कुन ठाउँमा अतिक्रमण भएको छ भन्ने कुरा खोज्ने क्रम जारी छ ।’ मधेसखबर

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *