काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा एकपछि अर्को गर्दै राजनीतिक व्यक्ति र पूर्वसचिवहरू मुछिँदै गएका छन् ।
गृह मन्त्रालयको सचिवका रूपमा त्यसबखत जिम्मेवारीमा रहेका टेकनारायण पाण्डेसमेत नक्कली भुटानी शरणार्थी तयार गर्ने गिरोहलाई सघाएको आरोपमा अनुसन्धानको दायरामा तानिएका छन् ।
पाण्डे बुधबारसम्म उपराष्ट्रपति कार्यालयमा सचिवको जिम्मेवारीमा छन् । उनीमाथि भुटानी शरणार्थीको सक्कल फाइल गिरोहलाई उपलब्ध गराएको आरोप छ । पाण्डे २७ साउन २०७८ देखि २ असोज २०७९ सम्म गृहसचिव थिए ।
बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंमा आफैं उपस्थित भएका पाण्डेलाई प्रहरीले अनुसन्धानका लागि भन्दै राखेको हो । त्यसपछि प्रहरीले काठमाडौं जिल्ला अदालतमार्फत उनलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति लिएको छ ।
पाण्डेविरुद्ध मंगलबार पक्राउपुर्जी जारी भएको थियो ।
‘काठमाडौं जिल्ला अदालबाट तीन दिनको म्याद दिएर अनुसन्धान गर्न अनुमति आएको छ, अदालतको अनुमतिअनुसार पाण्डेलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउँछौं,’ प्रहरी स्रोतले भन्यो ।
यो खबर आजको राजधानी दैनिकमा छ ।






