काठमाडौँ । सर्लाहीको हरिपुर्वा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत शम्भु यादव हाजिरी गरेको एक घण्टामै सरुवा भएका छन् ।
यादवले यही वैशाख १७ गते बिहान हरिपुर्वा नगरपालिकामा गई हाजिरी गरेका थिए । नगरपालिकाका कर्मचारीले उनलाई स्वागत गरे ।
स्वागत कार्यक्रम नसकिँदै उनको हातमा अर्को चिठी हात पन्यो । उनलाई संघीय मामिला मन्त्रालयले पहिलेकै कार्यालय मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा गरेको थियो ।
‘मलाई हाजिरी गरेको एक घण्टामै सरुवा गरियो । किन सरुवा गरियो थाहा छैन,’ यादवले भने, ‘तर सरकारी कर्मचारी भएपछि सरकारले जहाँ खटाउँछ, त्यहाँ जानुपर्छ।’
हरिपुर्वा नगरपालिकाका मेयर विनोदकुमार साह प्रमुख प्रशासकीय अधिकृत खोज्न एक महिनादेखि काठमाडौंमै बसेका छन् । ‘संघीय मामिला मन्त्रालय धाउँदा धाउँदा निकै कठिनाइले प्रमुख प्रशासकीय अधिकृत पाएको थिएँ । तैपनि एक घण्टामै सरुवा भयो,’ मेयर साहले भने, ‘काठमाडौं आएको एक महिनाभन्दा बढी भइसक्यो । प्रमुख प्रशासकीय अधिकृत पाउन सकेको छैन ।’
आफ्नो पालिकाले प्रमुख प्रशासकीय अधिकृत पाएपछि मात्र जिल्ला फर्कने साहले बताए ।
यो खबर आजको नागरिक दैनिकमा छ ।






