श्याम सरार्फ
वीरगन्ज । साताव्यापी रुपमा संचालन भईरहेको ट्राफिक सप्ताह कार्यक्रमको तेस्रो दिन आज ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी भन्ने नाराका साथ बढ्दो सहरिकरण सँगै हुनसक्ने सम्भावित सवारी दुर्घटना न्युनिकरणका लागि वीरगन्जमा गत सोमबार देखी ट्राफिक सप्ताह कार्यक्रम सुरु भएको हो ।

आज तेस्रो दिन बिहान घण्टाघर, माईस्थान, आर्दशनगर चोकहरुमा गौतम मा.वि का बिधार्थी तथा विभिन्न संस्थाबाट सहभागी भएका स्वयंसेवकहरुले संयुक्तरुपमा बिहान ०८:०० बजे देखि १० बजे सम्म पैदल यात्रुहरुलाई बाटो काट्न तथा सडक प्रयोगकर्ताहरुलाई सचेतना गराएका थिए ।
साझ ०६ः०० बजे बसपार्कमा आरक्षण सिट प्रयोग सम्बन्धि सचेतना र ट्राफिक व्यवस्थापन कार्य तथा दुर्घटना न्युनिकरण गर्ने अभियानलाई प्रभावकारी बनाउन कार्यक्रम चलाइएको जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख मणिराम थापाले जानकारी गराए ।

उक्त कार्यक्रममा ट्राफिक पर्सा प्रमुख थापा, व्यवस्थित विरगन्ज अभियानका दिलिप राज कार्की, भोलेन्टियर समुह पर्साका राजन श्रीवास्तव, परिवर्तन नेपालका रण्धिर बर्णबाल, सइ हनुमान यादव लगायतले सडकमा बटुवाहरुलाई ट्राफिक नियम पालना गर्न आग्रह गर्नुका साथै सचेतना फैलाइरहेका थिए ।
विश्व भरी सडक दुर्घटनामा हजारौं मानिसले ज्यान गुनाउदै आएको र नेपालमा पनि यो समस्या रहेको हुँदा यस अभियानलाई प्रभावकारी रुपमा सन्चलान गर्नुपर्ने आवस्यकता रहेको सहभागीहरुको धारणा रहेको थियो ।
सप्ताह भरी चल्ने यस कार्यक्रममा चालकहरुको स्वास्थ्य एवं आँखा चेकजाँच, दुर्घटना सम्बन्धी प्रोजेक्टर बाट जिल्ला भरी भिडियो प्रदर्सन, सचेतना सम्बन्धि विभिन्न कार्यक्रम संचालन गरिनेछ प्रमुख प्रहरी निरीक्षक थापाले बताए ।




