Categories समाचार

निक्षेपकर्तालाई रकम दिन नसकेपछि मेयर तीनदेखि ‘फरार’, खोज्न प्रहरी परिचालन

Advertisement

वीरगन्ज । आफू अध्यक्ष रहेको सहकारीबाट निक्षेपकर्तालाई रकम दिन नसकेपछि बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली फरार भएका छन्।

इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका नेपाली शुक्रबारदेखि सम्पर्कविहीन भएको ढोरपाटनका उपमेयर धनबहादुर कायतले जानकारी दिए।

Advertisement

‘शुक्रबार म एउटा कार्यक्रममा गएको थिएँ। आज बिहान कार्यालय जाँदा त मेरो टेबलमा कार्यवाहक दिइएको पत्र थियो,’ कायतले भने,‘उहाँले कहाँ गएको भन्नुभएको छैन। म नआउन्जेल कार्यवाहक चलाउनू मात्र लेख्नुभएको छ।’

Advertisement

बाग्लुङका  सहायक प्रमुख जिल्ला अधिकारी  चित्रांगत बरालले मेयर नेपालीलाई खोज्न प्रहरी परिचालन गरिएको बताए।

‘उहाँ सम्पर्कविहीन भएपछि बचतकर्ताहरू हाम्रो कार्यालयमा आएका छन्। बाग्लुङ बजारमा  तनावको अवस्था छ,’ बरालले सेतोपाटीसँग भने,‘बचतकर्ताको पैसा फिर्ता दिन हामीले पहिला पनि भनेका हौं। उहाँले आफ्नो पैतृक सम्पत्ति बेचेर भए पनि तिर्छु भनेर प्रतिवद्धता व्यक्त गर्नुभएको थियो। अहिले सम्पर्कविहीन भएपछि प्रहरीलाई खोज्न भनेका छौं।’

नेकपा (एमाले) बाट नेपालीले २०७४ र २०७९ मा ढोरपाटनको मेयर जितेका हुन्। उनी संस्थापक अध्यक्ष रहेको इमेज सहकारीको मुख्य कार्यालय बाग्लुङ बजारमा छ भने शाखा कार्यालयहरू पोखरा र बाल्गुङको हटिया र बुर्तिबाङ बजारमा छन्।

एक महिनाअघि उनले एक विज्ञप्ति जारी गर्दै धेरै जना निक्षेपकर्ता रकम फिर्ता लिन आएकोले भुक्तानी दिन नसकिएको बताएका थिए। उनले बचतकर्तालाई धैर्य गर्न अनुरोध गरेका थिए।

निक्षेपकर्ताको कति रकम सहकारीले भुक्तानी गर्न बाँकी छ भन्ने अनुसन्धानपछि थाहा हुने सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए। 

‘सहकारी गण्डकी प्रदेशमा दर्ता भएकाले हामीले प्रदेश सरकारलाई पनि यो विषयमा जानकारी गराएका छौं, अनुसन्धान हुँदैछ,’ बरालले भने। साभार : सेतोपाटी

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *