अमित अग्रवाल
वीरगञ्ज । पर्सा प्रहरीले अनलाइन सट्टावाजी गर्ने एक भारतीय नागरिक सहित चार जनालाई पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नं. १५ स्थित संजय श्रीवास्तवको घरमा अनलाइन मार्फत मुम्बई इन्डियनस भर्सेस लखनउ सुपर टिमको खेलमा सट्टाबाजी भइरहेको विशेष सुचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका वडा नम्बर ४ बस्ने ३१ वर्षका सरोज साह, सर्लाही रामनगर गाउँपालिका वडा नम्बर ६ बस्ने ३५ वर्षिय सन्तोष कुमार यादव, पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ बस्ने ३४ वर्षिय धुरेन्द्र यादव र भारत उत्तर प्रदेश गोरखपुर देवरिया बस्ने वर्ष ५२ का मुन्ना भन्ने धर्मनाथ प्रसाद जैसवाल रहेका छन् ।
घरको खानतलासी गर्दा सट्टाबाजीमा प्रयोग भएको मोबाईलहरू, ल्यापटप तथा नेपाली नगद ३ लाख ९० हजार पाँच सय रुपैयाँ र भारतीय नगद पन्ध्र हजार सात सय पचास रुपैयाँ र खेलको प्रत्यक्ष प्रशारण हेर्न प्रयोग भएको टिभी समेत फेला परेको पर्सा प्रहरीका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी गराए ।
पक्राउ परेका निजहरु विरुद्द अनलाइन सट्टाबाजी सम्बन्धी कसूरमा आज जिल्ला प्रशासन कार्यालय पर्साबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको समेत गिरीले बताए ।







