वीरगन्ज । अचाक्ली बढेको गर्मी छल्न पर्सामा धमाधम विद्यालय बन्द गर्न थालिएका छन् । जेठको दोस्रो सातादेखि क्रमशः बढ्दै गएको प्रचण्ड गर्मी छल्न जिल्लाका स्थानीय तहले धमाधम विद्यालय बन्द गर्न थालेका हुन् ।
जिल्लाको वीरगन्ज महानगरपालिकाले यही जेठ २६ गतेसम्म विद्यालय बन्द हुने सार्वजनिक सूचना नै जारी गरेको छ ।
लगत्तै जिल्लाको पटेर्वासुगौली गाउँपालिका, बिन्दवासिनी गाउँपालिका, छिपहरमाई गाउँपालिका, पाकाहामैनपुर गाउँपालिका र पोखरिया नगरपालिकाले पनि विद्यालय बन्द गरिने सुचना सार्वजनिक गरेका छन् ।
जिल्लाका अन्य स्थानीय तहले पनि विद्यालय बन्द गरिनेबारे छलफल भइरहेको जनाएका छन् ।
जिल्लामा पछिल्ला तीन/चार दिनयता यसअघि कहिल्यै नखेपिएको प्रचण्ड घामको राप बढेको छ । अहिले यस भेगमा प्रचण्ड गर्मीको रापले सामान्य हिँडडुल पनि सकस बनेको छ ।
गर्मीका कारण पर्साका हाटबजारमा सर्वसाधारणको आवागमन निकै घटेको छ । प्रचण्ड घामको रापले विद्यालय पढ्न जाने स–साना नानी, वृद्धवृद्धा र कडा शारीरिक श्रम गर्ने मजदुर मारमा परेका छन् ।






