वीरगन्ज । आज दुई ठाउँमा आयोजना गरिएको रक्तदान कार्यक्रमबाट १ सय ७८ पोका रगत संकलन भएको छ ।
वीरगन्ज तथा सिमरामा आयोजना गरिएको रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको रक्तसञ्चार केन्द्र वीरगन्जका प्रमुख सौरभ राज पाण्डेले जानकारी गराए ।
बिधापति नगर माझी टोल सुधार तथा व्यवस्थापन समिति श्रीपुर-११ वीरगन्जद्वारा आयोजित रक्तदान कार्यक्रममा १२ महिला सहित ५८ जना तथा राष्ट्रिय स्वतन्त्र पार्टी जीतपुर सिमराद्वारा आयोजित रक्तदान कार्यक्रममा १८ महिला सहित १ सय २० जना रक्तदाताहरुले रगत दान गरेका हुन ।
‘गर्मी सुरु हुने बित्तिक्कै रक्तदान कार्यक्रममा कमी देखिएको छ । हाल बढ्दै गएको भिष्ण गर्मीका कारण पहिले निर्धारित भइसकेका ३/४ वटा संस्थाको रक्तदान कार्यक्रम पनि रद्ध भयो, पाण्डेले भने, ‘ रगत संकलन न्युन हुदा पनि दैनिक ७०/८० पोका रगत व्यवस्थापन गरेर पठाइरहेका छौँ ।
पाण्डेका अनुसार महिनामा मुस्किलले तीन चारवटा संघ संस्थाले रक्तदान कार्यक्रम गरे पनि माग अत्याधिक रहेकाले संकलित रगत एक दुई दिनमै सकिन्छ । रगत लिन आउने गम्भीर बिरामीका कुरुवालाई भने केन्द्रको सम्पर्कमा रहेका नियमित रक्तदातालाई बोलाएर रक्तदान गर्न लगाइने गरेको पाण्डले बताए ।
सामान्य दिनहरूमा रक्तदाताहरुको भिड हुने वीरगन्जमा पनि गर्मीको असरले नराम्रो प्रभाव पारेको देखिन्छ । तर जस्तोसुकै अवस्था भएपनि मेसिन बाट बनाउन नपाउने रगत मान्छेको शरीर बाट निकालेर मात्र मान्छेको शरिरमा चढाउन पाउने भएकोले मानवीय कार्यमा सहयोग गर्न केन्द्रका प्रमुख पाण्डेले सबैमा अनुरोध गरे ।







