Categories पत्रपत्रिका

भारतबाट मुर्रा राँगा नेपाल आउने भएपछि पशु वैज्ञानिक उत्साहित

Advertisement

काठमाडौँ । भारतबाट मुर्रा राँगा नेपाल आउने भएपछि पशु वैज्ञानिक उत्साहित भएका छन्। भारत सरकारले उपहारस्वरूप दिने भनिएका १५ वटा मुर्रा राँगाका कारण भैँसीको उत्पादन क्षमतामा सुधार हुनेमा पशु वैज्ञानिक विश्वस्त देखिएका छन् ।  

मुर्रा जातका राँगा नेपाल ल्याउने प्रयास निकै अघिदेखि गरिँदै आएको थियो। यस पटक बल्ल प्रयास सफल भएपछि नश्ल सुधारका लागि आशा जागेको पशु वैज्ञानिकको भनाइ छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिक डा. नारायण पौडेलले ‘जेनेटिक मेटेरियल’ नेपाल आउने भएपछि त्यसले ऊर्जा थपेको बताए। 

Advertisement

उनले भने, “नेपालमा हाल रहेका मुर्रा जातका राँगाको शुद्धताको मापन हुन सकेको छैन। भारतबाट शुद्धताको मापन भएर आउने राँगामार्फत नेपालले पर्याप्त आर्थिक मुनाफा लिन सक्ने अवस्था रहन्छ।”  पशु चिकित्सक डा मणिप्रसाद सापकोटाले कालो सुनका रूपमा परिभाषित भएकाले मुर्रा जातको राँगा ल्याएपछि हुने फाइदाको बयान गर्न नसकिने बताए । 

Advertisement

नेपालका भैँसीले सरदर पाँच लिटर दुध दिने गरेका छन्। मुर्रा जातको भैँसीबाट अधिकतम ३८ लिटर र न्यूनतम २५ लिटर दुध उत्पादन हुन सक्छ। उनले भैँसीको उत्पादन क्षमता सुधारका लागि नश्ल सुधारबाहेक अरू विकल्प नरहेको बताए । भारत सरकारको शुद्ध स्रोतलाई आयात नगर्ने नीतिका कारणले नेपालमा शुद्ध मुर्रा जातको राँगा भित्र्याउन सकिएको थिएन। 

पशुसेवा विभागका महानिर्देशक डा. सम्झनाकुमारी काफ्लेले पशुको शुद्ध नश्लले पछिल्लो पुस्तामा उत्पादन बढाउने क्षमता राख्ने भएकाले संरक्षण र प्रवर्धन गरी पशुजन्य वस्तुमा राज्यलाई आत्मनिर्भर बनाउने सरकारी लक्ष्यलाई मुर्रा जातको राँगा ल्याएपछि थप सहयोग पुग्ने बताइन् ।  

राष्ट्रिय भैँसी अध्ययन केन्द्र तरहराका पशु वैज्ञानिक डा पङ्कज झाले राँगा ल्याउने सहमति हुनुले भैँसी पालनका क्षेत्रमा नयाँ ऊर्जा थपेको बताए। सो केन्द्रले कृषकको मागका आधारमा उच्च नश्लका राँगा उपलब्ध गराउँदै आएको छ। सो केन्द्रमा हाल एक सय वटा ठूलासाना भैँसी पालिएका छन्। यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।  

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *