वीरगञ्ज । वीरगञ्ज महानगरपालका वडा नम्वर 6 मा मुख्य नाला सफाई गर्ने क्रममा आइतबार ठूलो परिमाणमा बन्दुकमा प्रयोग हुने गोली फेला परेको छ ।
महानगरपालिकाले नाला सफाई गर्ने क्रममा प्लास्टिकको झोलामा विभिन्न हतियारमा प्रयोग हुने १०५ थान गोली फेला परेको हो ।
नाइन एमएमको ३२ थान, ३८ बोरको २४ राउण्ड, एसएलआरको ४ राउण्ड, हर्नेटको १७ राउण्ड सहित अन्य विभिन्न बन्दुकमा लाग्ने १०५ राउण्ड गोली फेला परेको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।
फेला परेको मध्ये ४ वटा बिग्रेकोअवस्थामा भेटिएको पनि उनले जानकारी दिए ।
उक्त गोली कसले कहिले नालामा फालेको भन्ने बारे केही खुलेको छैन ।
नाला सफा गर्ने क्रममा गोली भेटिएपछि सफाइकर्मीले प्रहरीलाई खबर गरेका थिए । गोली भेटिएको खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक साह आफै भेटिएको स्थानमा पुगेका थिए ।







