वीरगन्ज । २० औं राष्ट्रिय धान दिवसको अवसरमा वीरगन्ज महानगरपालिकाले उत्कृष्ट ३ जना किसानहरुलाई नगदराशी सहितको पुरस्कार प्रदान गर्दै सम्मानित गरेको छ । धान दिवसको अवसरमा वीरगन्ज महानगरपालिका वडा नम्बर २९ बसल्डिवामा महानगरपालिकाको कृषि महाशाखाले शुक्रबार धान रोपाईं महोत्सव तथा उत्कृष्ट किसान सम्मान कार्यक्रम आयोजना गरेको थियो ।
त्यहि कार्यक्रममा महानगरपालिकाले वीरगन्ज २० का रामकिशोर महत्तो , वीरगन्ज २९ का लालबाबु प्रसाद यादव र वीरगन्ज ३१ का नवलकिशोर झालाई जनही १० हजार रुपैयाँ नगद राशी सहितको पुुरस्कार र कदरपत्रसहित सम्मानित गरेको हो ।
कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले उत्कृष्ट किसानहरुलाई नगद पुरस्कार र कदरपत्र प्रदान गरे ।
महानगरपालिकाको कृषि महाशाखाले व्यवसायिक र अर्धव्यवसायिक रुपमा कृषि कर्म गर्दै आएकामध्ये उत्कृष्ट किसानलाई पुरस्कृत गर्न बनाएको कार्यविधीमा उल्लेख मापदण्ड पुरा गरेका तीन जना उत्कृष्ट किसानलाई पुरस्कृत गरिएको कृषि महाशाखाकी प्रमुख उर्मिला श्रेष्ठले बताइन् ।
महानगरपालिकाले उत्कृष्ट कृषक छनौटका लागि बनाएको कार्यविधीमा खाद्यान्न बालीमा कम्तिमा २० कठ्ठामा खेती गरेकै हुनुपर्ने , च्याउ खेती कम्तिमा १ सय वटा ब्लब हुनैपर्ने , भैंसीपालनमा कम्तिमा १० वटा माउँ भैंसी पालकै हुनुपर्ने लगायतका मापदण्डहरु तय गरिएको थियो । यीनै मापदण्ड पुरा गरेका तीन जना उत्कृष्ट किसानलाई पुरस्कृत गरिएको श्रेष्ठले जानकारी दिइन् ।
सम्मान कार्यक्रमपछि बसडिल्वास्थित खेतमा धान रोपाईं कार्यक्रमपनि गरिएको थियो । प्रमुख प्रशासकीय अधिकृत पौडेल , वडा नम्बर २९ का वडा अध्यक्ष धर्मेन्द्र महत्तो थारुसंगै कर्मचारी र स्थानीय किसानहरुले खेतमा धान रोपेका थिए ।
वीरगन्ज महानगर वडा नम्बर २९ का वडा अध्यक्ष महतोको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत पौडेलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा वडाअध्यक्ष महत्तो , महानगरपालिकाका कर्मचारी , सञ्चारकर्मी , स्थानीय किसान लगायतकोपनि सहभागीता थियो ।