वीरगञ्ज । आषाढ शुक्ल पूर्णिमा, ज्ञान दिने गुरुको सम्मान गरी सोमबार गुरु पूर्णिमा मनाइँदै छ ।
गुरुदेवो भव भनेर सनातन संस्कृतिमा गुरुलाई देवताकै स्थान दिइएको छ। ज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले मातापिताभन्दा गुरु ठूला हुन्छन् भन्ने सनातन वैदिक धर्मको मान्यता छ ।
मानिसको पहिलो गुरु माता र त्यसपछि पितालाई मानिएको छ। मनुस्मृतिअनुसार जन्म दिने, संस्कार दिने र मन्त्र दिने वा वेद पढाउनेलाई गुरु भनिन्छ ।
वैदिक परम्परामा व्यक्तिको ज्ञान प्राप्ति र चरित्र निर्माणमा माता, पिता र आचार्य (गुरु)को मुख्य भूमिका रहने मानिएको छ ।
‘जसले अरूलाई आचरणमा राख्छन् र स्वयं पनि आचरणको पालना गर्छन्’, स्मृतिमा भनिएको छ, ‘ती नै गुरु हुन् ।’






