Categories रासस

पाटेबाघको छाला र हड्डीसहित चार जना पक्राउ

वीरगन्ज । बाँकेको कोहलपुरमा पाटेबाघको छाला र हड्डीसहित चार जना पक्राउ परेका छन् । 

प्रहरीको लुम्बिनी प्रदेश अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर–११ हाम्रो बजारबाट पाटेबाघको एक थान छाला र छ किलो आठ सय १८ ग्राम हड्डीसहित उनीहरुलाई पक्राउ गरेको हो । 

Advertisement

पक्राउ पर्नेमा दैलेखको भगवतीमाई गाउँपालिका–५ का ३३ वर्षीय प्रवीणकुमार केसी, दैलेखकै ठाँटीकाँध गाउँपालिका–४ का ३० वर्षीय सुनिल चुनारा, अछामको पञ्चदेवल गाउँपालिका–२ का ३६ वर्षीय लोकेन्द्र शाही र जाजरकोटको बारकोट गाउँपालिका–३ का ५२ वर्षीय कर्णबहादुर रोकाय रहेका छन् । 

Advertisement

डिभिजन कार्यालय बाँकेका वन अधिकृत अजितकुमार कर्णका अनुसार छाला र हड्डी वयस्क पोथी बाघको हो । छालाको लम्बाइ नौ फिट आठ इञ्च रहेको छ । घाँटीमा दुई ठाउँमा गोलीको प्वाल फेला परेको छ । बरामद गरिएको हड्डी कतिवटा बाघको हो भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए।  

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ को उपदफा १ का अनुसार पक्राउ परेका चारै जना दोषी भएको पुष्टि भएमा पाँचदेखि १५ वर्षसम्मको कैद वा पाँच लाखदेखि १० लाखसम्मको जरिवाना अथवा दुवै सजाय हुनसक्ने वन अधिकृत कर्णले बताए। चारै जनाबारे थप अनुसन्धन डिभिजन वन कार्यालय गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *