वीरगञ्ज । इन्टरनेट सेवा प्रदायक कम्पनी वाइफाई नेपालले सङ्घीय राजधानी काठमाडौँ बाहिर पनि आफ्नो सेवा विस्तार गरेको छ । नेपालकै सस्तो इन्टरनेट प्याकेजका उपलब्ध गराउने उद्देश्यका साथ सुरुवात भएको कम्पनीले बिहीबारदेखि वीरगञ्जमा पनि आफ्नो सेवा सुरु गरेको हो ।
यसअघि कम्पनीले काठमाडौँ सहित देशका अन्य १२ प्रमुख सहरहरूमा आफ्नो सेवा विस्तार गरिसकेको छ । अब वीरगञ्जका प्रयोगकर्ताले वाइफाई नेपालको ५० र ८० एमबीपीएस गतिको इन्टरनेट प्याकेज खरिद गर्न सक्नेछन् ।
बिहीबार एक कार्यक्रमका बिच वाइफाई नेपालले आदर्शनगरमा आफ्नो सम्पर्क कार्यालयको पनि उद्घाटन गरेको छ । कार्यालयको प्रमुख अतिथि एवम् ग्रिन सिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानलगायतले रिबन काटेर गरेका थिए ।
कार्यक्रममा बोल्दै खेतानले वीरगञ्जमा पनि नेपालकै सस्तो इन्टरनेट उपलब्ध गराउने वाइफाई नेपालले आफ्नो शाखा विस्तार गरेर यहाँका जनतालाई सेवा उपलब्ध गराउन सुरु गरेकोमा आभार प्रकट गरे । उनले सस्तो इन्टरनेटको खोजीमा रहेका ग्राहकका लागि वाइफाई नेपाल उत्कृष्ट विकल्प रहेको बताउँदै आगामी दिनमा यसको सेवा जिल्लाका अन्य स्थानीय तहहरूसमेतमा विस्तार गर्दै जान सुझाव दिए ।
पहिलो चरणमा वीरगञ्जको सहरी क्षेत्रमा सेवा विस्तार गरेको कम्पनीले क्रमशः परवानीपुर, पोखरिया, ड्राइपोर्ट र जिल्लाका अन्य ग्रामीण भेगमा समेत सेवा विस्तार गर्ने योजना बनाइरहेको प्रमुख कार्यकारी अधिकृत सत्रुधन पञ्जियारलेले जानकारी दिए ।
पञ्जियारले मधेश प्रदेशको एक मात्र महानगरपालिका र देशकै आर्थिक केन्द्र वीरगञ्जमा उच्च गतिको इन्टरनेट सेवा प्रदान गर्न वाइफाई नेपालको शाखा विस्तार गर्न पाउँदा आफूहरू उत्साहित भएको बताए । छिटो र भरपर्दो इन्टरनेटको खोजीमा रहेका ग्राहकहरूका लागि वाइफाई नेपाल सबैभन्दा उत्कृष्ट सेवा प्रदायक कम्पनी रहेको उनले दाबी गरे ।
आजै दिउँसो वीरगञ्जको पुजन होटेलमा पत्रकार सम्मेलन गर्दै उनले इन्टरनेट आवश्यक भएको तर महँगो शुल्क तिर्न नसक्ने अथवा नचाहने विद्यार्थी, साना व्यवसायी, सानो परिवार र दैनिक ज्यालादारी गर्ने लगायतका लागि वाइफाई नेपाल सर्वोत्कृष्ट विकल्प रहेको बताए ।





