Categories रासस

घरमै पुगेर नागरिकता वितरण

Advertisement

भोजपुर । विभिन्न समस्याका कारण नागरिकता पाउनबाट बञ्चित भएका नागरिकलाई जिल्ला प्रशासन कार्यालय भोजपुरले घरमै पुगेर नागरिकता दिन सुरुआत गरेको छ । नागरिकताबाट बञ्चित जिल्लाको पूर्वी अरुण गाउँपालिकाका तीन जनालाई प्रमुख जिल्ला अधिकारीसहितको टोलीले घरमै पुगेर नागरिकता वितरण गरेको छ ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले पौवादुङमा गाउँपालिका–४ र ६ का अपाङ्ग, अशक्त र फरक क्षमता भएका नागरिकलाई घर–घरमै गएर नागरिकता वितरण गरेका हुन् । वडा नं ४ बास्तिमका तेजकुमार राईलाई ०९–०१–८०–०१३७४ नम्बर, सोही वडाका आसमाया राईलाई ०९–०१–८०–०१३७५ र वडा नं ६ ठूलोदुम्माका अरुणराज राईलाई ०९–०१–८०–०१३७६ नम्बरको नागरिकता प्रमुख जिल्ला अधिकारी घिमिरेले घरमै पुगेर वितरण गरे ।

Advertisement

नागरिकता नहुँदा सरकारी सेवाबाट पनि बञ्चित हुनुपरेको जानकारी गाउँपालिकाबाट आएपछि आफूहरूले घरमै गएर नागरिकता वितरण गरेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । उनले भने, “नागरिकता नहुँदा राज्यबाट पाउने सेवा सुविधाबाट समेत अपाङ्गता भएका, अशक्त र फरक क्षमता भएका नागरिक बञ्चित हुनुपरेको अवस्थामा हामीले घरमै पुगेर नागरिकता दिँदा सो सुविधा दिलाउन पनि सफल भएका छौँ ।”

Advertisement

प्रमुख जिल्ला अधिकारीसहित नागरिकता वितरणका क्रममा जिल्ला न्यायाधीश मणिराम न्यौपाने, प्रशासकीय अधिकृत राजु शर्मा, जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख शरदकुमार थापा क्षेत्री, सशस्त्र प्रहरीका प्रमुख दिनेश श्रेष्ठ, पालिका अध्यक्ष किरण राई, स्थानीय वडाका जनप्रतिनिधि र स्थानीयको सहभागिता रहेको थियो ।

जिल्ला प्रशासन कार्यालय आएर नागरिकता बनाउन नसक्नेका लागि विगतका पनि घरमै गएर नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय भोजपुरका प्रशासकीय अधिकृत राजु शर्माले बताए ।

आफ्ना पालिकाभित्रका नागरिक नागरिकता लिनबाट बञ्चित हुन नदिनका लागि पालिकाले स्थानीय प्रशासनसँग समन्वय गरेको पौवादुङमा गाउँपालिकाका अध्यक्ष किरण राईले बताए । उनले भने, “हामीले जिल्ला प्रशासन कार्यालयमा पुगेर नागरिकता बनाउन नसक्ने तीन जना अशक्तलाई गाउँमै नागरिकता दिलाउन सफल भएका छौँ, यो क्रम आगामी दिनमा पनि जारी रहन्छ ।”

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *