Categories समाचार

सडक विस्तारका क्रममा भएको विवादित क्षेत्रको सांसद यादब र मेयर सिंहले गरे स्थलगत अवलोकन

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ प्रसौनीविर्तामा सडक विस्तारका क्रममा देखिएको समस्यालाई समाधान गर्न सांसद प्रदीप यादव र नगरप्रमुख (मेयर) राजेशमान सिंहले स्थलगत अनुगमन गरेका छन् ।

सडक विस्तार गर्न स्थानीयहरूले अवरोध सृजना गरेको जानकारी पाएसँगै जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतकसमेत रहेका सांसद यादव र मेयर सिंहले स्थलगत अनुगमन गरि स्थानीयहरूसँग छलफल गरेका हुन् ।

Advertisement

पर्सा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्ने सडक खण्डको विस्तार गर्ने क्रममा स्थानीयहरूले आफ्नो नम्बरी जग्गा पनि परेको भन्दै विवाद खडा गरेका थिए । स्थानीय स्तरमै विवाद सल्टाउन प्रयास गरिए पनि नभएपछि सांसद यादव र मेयर सिंह आफै स्थानीयहरूसँग छलफल गर्न पुगेका थिए । 

Advertisement

छलफलका क्रममा पूर्व वन तथा वातावरण मन्त्रीसमेत रहेका यादवले विकास निर्माणको काममा कुनै पनि किसिमको बाधा, अवरोध सृजना नगरी सहयोग गर्न स्थानीयहरूसँग आग्रह गरे । उनले भने, ‘सडकको विकास भए मात्रै गाउँ ठाउँको विकास सम्भव हुन्छ ।’ 

विकासका निमित्त सडक सबैभन्दा महत्त्वपूर्ण पूर्वाधार भएको बताउँदै उनले भने, ‘सडक राम्रो भए गाउँमा उत्पादन हुने कृषि सामग्रीलाई सहजै बजारसम्म पुर्‍याउन सकिन्छ, पठनपाठनका लागि बालबालिकाहरू सहरका विद्यालयसम्म पुग्न सक्छन्, स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने एम्बुलेन्स र आगजनीका समयमा वारुणयन्त्र सहजै गाउँसम्म पुग्न सक्छ । त्यसैले सडक विस्तारमा हामीले बाधा पुर्‍याउनु भन्दा पनि सहयोग गर्नुपर्छ ।’ 

त्यस्तै वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले पनि सडक विस्तारमा अवरोध सृजना नगर्न स्थानीयहरूसँग अनुरोध गरे । उनले भने, ‘सडक नै विकासको पहिलो सिँढी हो । सडकको विकास नभएसम्म अन्य विकासका कामहरू अगाडि बढाउन सकिँदैन । त्यसैले सडकका लागि स्थानीयहरूले अवरोध खडा गर्नुभन्दा पनि स्वेच्छाले आफ्नो जग्गा दिनुपर्दछ ।’

मेयर सिंहले अवरोध सृजना गर्नुभन्दा पनि छलफल मार्फत निकास खोज्न आग्रह गर्दै स्थानीयहरूलाई आवश्यक सम्पूर्ण कागजपत्र लिएर महानगरपालिका आउन अनुरोध पनि गरे ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *