Categories समाचार

वीरगञ्जमा दोस्रो पटक आयोजित ‘वीरगञ्ज कोरा’ सम्पन्न

Advertisement

वीरगञ्ज ।  धार्मिक तथा पर्यटकीय स्थलको प्रवद्र्धन गर्ने अभिप्रायका साथ वीरगञ्जमा दोस्रो पटक आयोजित ‘वीरगञ्ज कोरा’ सम्पन्न भएको छ । वीरगञ्जका पर्यटकीय तथा धार्मिक स्थलहरूलाई अझै नजिकसँग बुझ्नुका साथै प्रवर्द्धन तथा प्रचार गर्ने उद्देश्यले आयोजित वीरगञ्ज कोरा सम्पन्न भएको आयोजक संस्था वीरगञ्ज साइक्लिङ क्लबका अध्यक्ष सञ्जय अग्रवालले बताए । उनले भने, ‘२०२२ मा पहिलो पटक वीरगञ्जमा हामीले कोराको आयोजना गरेका थियौँ । यस पटक यसको दोस्रो संस्करणका रूपमा वीरगञ्ज कोरा सम्पन्न भएको छ ।’ 

अन्तर्राष्ट्रिय युवा दिवसकै अवसरमा आयोजित वीरगञ्ज कोरामा एक सयभन्दा बढीले सहभागिता जनाएका थिए । यहाँको सबैभन्दा पवित्र धार्मिक स्थलका रूपमा परिचित गहवामाई मन्दिर अगाडिको माइस्थान चोकबाट सुरु भएको कोराको परिक्रमा वीरगञ्जका विभिन्न स्थाल घुम्दै पुनः माइस्थान चोकमै आएर टुङ्गिएको हो । 

Advertisement

‘माइस्थानबाट सुरु भएको कोरा पावर हाउस चोक, चिनिमिल आवास क्षेत्रमा रहेको पशुपतिनाथ मन्दिर, बाइपास सडक खण्ड, प्रतिमा चोक, बसपार्क, वैष्णो देवी मन्दिर, शङ्कराचार्य द्वार, बिर्ता मन्दिर, होटेल मकालु र गीता मन्दिर हुँदै पुनः माइस्थान चोकमा आएर १५ किलोमिटर लामो यात्रा गर्दै अन्त्य भएको अग्रवालले बताए । 

वीरगञ्ज साइक्लिङ क्लबका सचिव अनुप अग्रवालका अनुसार वीरगञ्ज कोरामा वीरगञ्जबासीको उत्साहजनक उपस्थिती थियो । यसले कोराको उद्देश्य पूरा भएको दाबी गर्दै अग्रवालाले आगामी दिनमा पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिने बताए । 

वीरगञ्ज सहर ट्राफिक समस्या र धुलो धुवाँसँग जुधिरहेको अवस्थामा कोराले वातावरणमैत्री साइकल अभियानलाई प्रवर्द्धन पनि गर्न खोजेको उनको भनाई छ । ‘त्यस्तै हामीले साइक्लिङलाई बढावा दिन अनि खोजेका छौँ । सामान्य कामको लागि समेत मोटरसाइकल र गाडी भन्दा साइकलको प्रयोग बढी होस् भन्ने हाम्रो चाहना हो,’ उनले भने ।

वीरगञ्ज कोराको उद्घाटन वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले गरेका थिए । उनले पनि वातावरणमैत्री साइकलको प्रयोग गर्नुपर्नेमा जोड दिँदै स्वास्थ्यका लागि पनि साइकल उपयोगी हुने धारणा राखे । साथै धार्मिक स्थलको प्रवद्र्धन गर्न महानगरले पनि काम गरीरहेको उनले जानकारी गराए ।

वीरगञ्ज महानगरपालिकाको संयुक्त आयोजनामा भएको वीरगञ्ज कोरा –२०२३ मा नेपाल युवा उद्यमी मञ्च, वीरगञ्ज, इम्प्रुभीङ् वीरगञ्ज, वीरगञ्ज युवा क्लब, हन्द्रेड्स ग्रुप, वुमन्स क्रिएसन र फोर जी आर समूह जस्ता संस्थाले पनि सहयोग गरेका थिए । कार्यक्रमको मिडिया पार्टनरको रूपमा यात्राडेली डटकम र एड्स बी मिडिया प्रालि रहेका थिए ।

२०११ मा पहिलो पटक काठमाडौँबाट सुरु भएको कोरा हाल देशका लगभगका सम्पूर्ण मुख्य सहरहरूमा आयोजना हुँदै आएको छ । 

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *