Categories समाचार स्वास्थ्य

प्रदेशले प्रकाशित गरेको विज्ञापनमा चिकित्सक संघको चिन्ता, उमेर हद नसच्याए सेवा ठप्प गर्ने चेतावनी

Advertisement

वीरगन्ज । प्रदेश निजामती सेवाका अधिकृत एघारौं र नवौं तह (अप्राविधिक/प्राविधिक) पदको लागि मधेस प्रदेशले प्रकाशित गरेको विज्ञापनमा नेपाल चिकित्सक संघको ध्यानाकर्षण भएको  छ ।

संघीय निजामती सेवाको गठन, सञ्चालन, सेवाका शर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ को दफा १८ मा उम्मेदवार हुनका लागि योग्यता को उपदफा (ग) बमोजिम पुरूष उम्मेदवारको हकमा ३५ बर्ष र महिला उम्मेदवारको हकमा ४० बर्ष उमेर पूरा नभएको मापदण्ड सम्बन्धी संघको गम्भीर ध्यानाकर्षण भएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ  ।

Advertisement

हालै स्वास्थ्य सेवालाई समेत निजामति सेवामा समावेश गराउने गरी संघीय निजामती सेवाको गठन, सञ्चालन, सेवाका शर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ मा स्वास्थ्य सेवामा प्रवेश गर्न इच्छुक अधिकृत स्तरका स्वास्थ्यकर्मी तथा चिकित्सकहरूको उमेर हद स्वास्थ्य सेवा ऐन २०५३ मा तोकिए बमोजिम अर्थात ४५ वर्ष सम्म कायम हुनु पर्ने प्रावधान विपरित प्रदेश लोक सेवा आयोग मधेस प्रदेशद्वारा दरखास्त आवहन गरिएको छ ।

Advertisement

यसले स्वास्थ्य सेवा प्रवाहमा निरन्तर खटिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई निरूत्साहित गराएको तथा स्वास्थ्य सेवा ऐन २०५३ को भावना र मर्म विपरित साथै अवैज्ञानिक रूपमा उमेरको हद कायम गरिएको बताइएको छ ।

देशभरका लोक सेवा आयोग तथा स्थानीय तहलाई अविलम्ब पत्राचार गरी प्रकाशित विज्ञापनमा संशोधन गर्न तथा भावी दिनमा प्रकाशित गरिने पदपूर्ति सम्बन्धी विज्ञापनमा स्वास्थ्य सेवा ऐन बमोजिम नै उमेर हद कायम रहने व्यवस्था मिलाउनु पर्ने विज्ञप्तिमा जोडिएको छ ।

संघले बारम्बार नेपाल सरकार तथा सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउदा समेत उमेर हदलाई नसच्चाई हाल मधेश प्रदेशबाट समेत विज्ञापन प्रकाशित गरिनुले समग्र चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवामा समर्पित हुने चिकित्सकहरूलाई निरूत्साहित तुल्याएको संघका महासचिव डाक्टर सन्जिब तिवारीद्वारा हस्ताक्षरित विज्ञप्ति मार्फत बताइएको छ ।

आयोगले अविलम्ब विज्ञापन नसच्याए प्रदेश भरि सेवा ठप्प गर्नुका साथै कडा भन्दा कडा कदम चाल्न बाध्य हुने र यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी नेपाल सरकार स्वयं हुने संघका केन्द्रीय उपाध्यक्ष तथा मधेशप्रदेश संयोजक डाक्टर निरज सिंहले बताउनुभयो ।

प्रचलित ऐन कानून विपरित प्रदेश सरकारका लोकसेवा आयोगबाट प्रकाशित भएका विज्ञापन अबिलम्ब सच्चाई ४५ वर्ष उमेर हद कायम गर्न संघको जोडदार माग रहेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *