वीरगन्ज । आफ्नो जेनरेटरको क्षमताले नधान्ने भएपछि नारायणी अस्पताल प्रशासनले अन्ततः मासिक २ लाख ५० हजार रुपैयाँ भाडाको जेनरेटरबाट एमआरआई मेसिन चलाउन थालेको छ ।
अस्पतालका प्रवक्ता डा उदयनारायण सिंहका अनुसार एक महिनाअघि अटो प्यानलसहितको जेनरेटर भाडामा लिएर एमआरआई मेसिन परीक्षण भइरहेको छ ।
‘एमआरआइ मेसिन निर्वाध रुपमा चलाउन २४ सै घण्टा अस्पतालमा विद्युत आपूर्ति हुनुपर्छ । अस्पतालको जेनरेटरको क्षमताले धान्न नसकेपछि बाध्य भएर भाडाको लिनु परेको हो,’ उनले भने ।
पछिल्लो केही वर्षयता अस्पतालमा आईसीयू, डायलासिस जस्ता कक्ष थपिएका छन् । थुप्रै कक्षमा एसीसमेत जडान भइसकेकाले हाल अस्पतालमा उपलब्ध विद्युतले एमआरआई मेसिनलाई धान्न नसकेको डा. सिंहले बताए ।
सिंहका अनुसार एमआरआई मेसिन निर्वाध चलाउन अस्पतालमा तत्कालै ३ सयदेखि ५ सय केभीएको जेनरेटर आवश्यक छ । ‘खरिदमा ३० देखि ५० लाख रुपैयाँ बजेट आवश्यक पर्न जान्छ । अस्पतालको बजेटले हाल खरिद गर्न सक्ने अवस्था छैन,’ उनले भने ।
संघीय स्वास्थ्य मन्त्रालय र मधेश प्रदेश सरकारले पनि नयाँ जेनरेटर खरिदका लागि बजेटको व्यवस्था गरिदिने आश्वासन दिएको उनले बताए । ‘दुवैतर्फबाट जेनरेटर खरिदका लागि बजेटको व्यवस्था हुने आश्वासन पाएका छौं,’ उनले भने, ‘बजेट नआउन्जेल भाडाको जेनरेटरले काम चलाउनु बाध्यता छ ।’ आपूर्तिकर्ता कम्पनीले आइतबार दोस्रो चरणको परीक्षण सम्पन्न गरेर यसै साताभित्र मेसिन अस्पताल प्रशासनलाई हस्तान्तरण गर्ने उनले बताए । वीरगन्जका राजेश प्रजापतिको कम्पनीसँग जेनरेटर भाडामा लिइएको हो ।
३० करोड रुपैयाँमा खरिद गरिएको एमआरआई मेसिन अस्पताल परिसरमा खुल्ला आकाशमुनि करिब अढाई महिना थन्किएको थियो । आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालिले मेसिनमा प्रयोग हुने हिलियम ग्यासको अभावको कारण देखाउँदै जडानमा चासो देखाएको थिएन । सरकारी लगानी खेर गएको भन्दै आलोचना भएपछि आपूर्तिकर्ताले उक्त मेसिन एमआरआई कक्षमा जडान गरिदिएको हो । जडान गरेपछि कम्पनीले मेसिन चलाउन अस्पतालमा गुणस्तरीय विद्युतको अभाव देखाएको थियो ।
गुणस्तरहीन विद्युतका कारण मेसिनको हिलियम ग्यास खेर गएर अस्पतालमा जोखिम हुने अवस्था आएपछि विकल्प खोजिएको डा सिंह बताउँछन् । उनका अनुसार, ३ टेस्ला एमआरआइ मेसिन गत फागुनको दोस्रो साता अस्पतालमा ल्याइएको हो ।
उक्त मेसिनमा ‘परमानेन्ट म्याग्नेट’ प्रयोग हुने र त्यसलाई निरन्तर चिस्याइ राख्नका लागि हिलियम ग्यास र निरन्तर विद्युत आपूर्ति हुनुपर्छ । अस्पतालको आफ्नै जेनरेटरमा अटोमेटिक प्यानल नभएकाले विकल्प खोजिएको उनको भनाइ छ । साभार: कान्तिपुरबाट






