Categories पत्रपत्रिका

साना भन्सारबाट भित्रिँदै छलीका सामान

परासी । नवलपरासीका सीमा नाकाबाट दिनहुँ भारतबाट भन्सार छली गरेर ल्याएका सामान भित्रिने गरेका छन्। सबैभन्दा बढी जिल्लाको भुजहवा, महेशपुर, झोलनीपुर, लक्ष्मीपुर, बसैया सीमा नाकाबाट भन्सार छलेर ल्याएका सामान भित्रिने गरेका हुन्। 

तस्करीको ट्रान्जिट प्वान्टकै रूपमा चिनिने यी नाकाबाट पछिल्लो दुई महिनायता ठूलो मात्रामा तस्करीका सामान नभित्रिए पनि छिट्फुट्ट तस्करीको कार्य भने रोकिएको छैन। सीमा नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका कार्यालय र युनिट छन्।

Advertisement

तस्करी कार्यलाई रोक्न भन्दै सवारीसाधन र पैदलयात्रीलाई गस्ती बढाएको नेपाल प्रहरी र सशस्त्र प्रहरीले जनाउँदै आएका छन्। तर तथ्यांकलाई हेर्दा तस्करीका सामान बरामद गर्नेमा प्रहरीका यी दुवै संगठन कमजोर देखिएका छन्। यी दुई संगठनको तुलनामा भन्सार कार्यालय झनै कमजोर देखिएको छ।

Advertisement

भन्सार कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीमध्ये तस्करीका सामान बरामद गर्नेमा बुटवलस्थित राजस्व अनुसन्धान कार्यालय अघि देखिएको छ। जिल्लामा राजस्व अनुसन्धान कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र महेशपुर भन्सार कार्यालय गरी चार निकायले अवैध सामान बरामद गर्दै आएका छन्। 

दुई प्रहरी संगठन र भन्सार कार्यालयले नाका र सम्भावित स्थानमा नियमित निगरानी र गस्ती गर्दै आएको जनाए पनि कसैले दिएको सूचनाको आधार र छड्के रूपमा कहिलेकाहीँ जिल्लामा गस्ती गर्न आउने राजस्व अनुसन्धान कार्यालयको टोलीले बरामद गरेको सामानको मूल्य हेर्दा उनीहरू कमजोर मात्र देखिएका छैनन्, मिलेमतोमा तस्करी हुँदै आएको आशंका पनि गरिएको छ। 

अन्नपूर्ण पोस्ट्ले संकलन गरेको छुट्टाछुट्टै विवरणअनुसार आव २०७९र८० को एक वर्षको अवधिमा जिल्लाबाट कुल ३६ करोड ९४ लाख ७९ हजार रुपैयाँबराबरका अवैध सामान बरामद भएका छन्। जसमा सबैभन्दा बढी राजस्व अनुसन्धान कार्यालय बुटवलले बरामद गरेको छ। 

कार्यालयको गस्ती टोलीले मात्र २३ करोड ४ लाख ६१ हजार रुपैयाँबराबरको अवैध सामान नवलपरासीबाट बरामद गरेको अनुसन्धान कार्यालयका सूचना अधिकारी हुमबहादुर पाण्डेले जानकारी दिए।

त्यस अवधिमा नेपाल प्रहरीले ६ करोड २० लाख रुपैयाँको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेले जानकारी दिए। 

त्यस्तै गण र मातहतका युनिटले एक वर्षको अवधिमा ३ करोड १ लाख रुपैयाँको अवैध सामान बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल २६ नं. गण हे।क्वा नवलपरासीका एसपी धीरेन्द्रराज न्यौपानेले जानकारी दिए। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *