वीरगञ्ज । वीरगञ्जको माइस्थान विद्याथपीठ उच्च माद्यमिक विद्यालयमा सोमबार निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । विगत केही समय देखि आँखा पाक्ने रोगको संक्रमण फैलिएकाले त्यसलाई नियन्त्रण गर्न शिविर संचालन गरिएको हो ।
साहिब दरबार र सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा सोमबार सम्पन्न शिविरमा ३४१ जना विद्यार्थीको आँखा जाँच गरिएको साहिब दरबारका अध्यक्ष उमेशलाल सहनीले जानकारी दिनुभयो ।
आँखा जाँच गरिएका विद्यार्थी मध्ये २० प्रतिशत विद्यार्थीमा आँखा पाक्ने समस्या (आई फ्लु) भेटिएको र त्यो नियन्त्रणको क्रममा देखिएको आँखा अस्पतालका मेडिकल संयोजक महेश सिंह धामीले जानकारी दिनुभयो ।
यस्तै जाँच गरिएकामध्ये ५३ जना विद्यार्थीमा भने दृष्टि दोषको समस्या देखिएको पनि उहाँले बताउनुभयो ।
आँखा पाक्ने समस्या देखिएका विद्यार्थीलाई शिविरमा निशुल्क औषधी समेत उपलब्ध गराइएको शिविरमा खटिएका दृष्टि विशेषज्ञ अञ्जली मेहताले जानकारी दिनुभयो ।
साहिब दरबार र सामुदायिक आँखा अस्पतालको आयोजनामा महानगरका विभिन्न विद्यालयमा आँखा जाँच शिविर संचालन भइरहेको छ । मंगलबार पनि सोही विद्यालयमा शिविर संचालन हुने साहिब दरबारका अध्यक्ष सहनीले जानकारी दिनुभयो ।
सोमबार सम्पन्न शिविरमा साहिब दरबारका प्रेरणा श्रेष्ठ, सुरज गुप्ता, रमितामाया गुप्ता, अवधेस यादव, हफिज मियाँ लगायतको समेत उपस्थिति रहेको थियो ।






