वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले धर्मकै नाममा विभेद गरेर समाजमा कलह र हिंसा पैदा गर्न खोज्नेहरूदेखि वीरगञ्जवासी सचेत रहेको भन्ने सन्देश दिन ‘सद्भाव र्याली’ निकालिएको बताएका छन् ।
सोमबार वीरगञ्जमा निकालिएको ‘सद्भाव र्याली’ पछि जिल्ला प्रशासन कार्यालय पर्सामा आयोजित कोणसभामा बोल्दै मेयर सिंहले भने ‘हामी वीरगञ्जवासी एकदम सचेत छौँ र हामी एक आपसमा मिलेर बसेका छौँ भन्ने सन्देश दिन र्याली आयोजना गरेका हौँ ।’
सम्बोधनका क्रममा पछिल्लो समयमा धार्मिक गतिविधिको नाममा बढ्दै गएको उच्छृङ्खलता गतिविधिप्रति उनले चिन्ता व्यक्त गरे । उनले समाजलाई भाँड्ने तत्त्वहरूको पहिचान गरेर प्रशासनले कारबाहीको दायरामा आग्रह समेत गरे । उनले भने, ‘यदि त्यस्ता व्यक्तिहरूलाई प्रशासनले कानुनी दायरामा ल्याएर कारबाही गरेन भने वीरगञ्जवासी आफैँले त्यस्ता उच्छृङ्खल व्यक्तिहरूलाई पहिचान गरेर रामधुलाई गर्नेछन् ।’
धर्मको नाममा समाजमा द्वेष फैलाउन खोज्नेहरू दुईचार जना मात्रै रहेको पनि उनले बताए । हिन्दु–मुस्लिमबिच द्वन्द्व गराउने खालका गतिविधिप्रति सचेत रहन उनले वीरगञ्जवासीसँग आग्रह पनि गरे । उनले सबै धर्मको लक्ष्य भनेकै समाजमा शान्ति कायम गर्ने भएको धारणा राखे ।







