वीरगञ्ज । सीमा क्षेत्र भारतीय बजार रूपैडियामा बसेर नेपालगञ्जको धार्मिक सद्भावमाथि खलल पुर्याउने कार्य गरेको भन्दै भारतीय प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । नेपालगञ्जको धार्मिक सद्भाव बिथोल्ने मनसायले सामाजिक सञ्जालमार्फत उनीहरूले म्यासेज र भिडियो प्रवाह गरेको भन्दै भारतीय प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेका भारतीय नागरिक भएको बुझिएको छ । रूपैडियास्थित भारतीय प्रहरीका अनुसार शुक्रवार एक जना, बिहीबार चार जना र बुधवार एक जनालाई पक्राउ गरिएको छ ।
शुक्रवार सिराजुद्दीन पुत्र इकराम खाँलाई पक्राउ गरिएको आदर्श थाना रूपैडियाका प्रहरी अधिकारी वरदान सेनाले जनाए । त्यस्तै इमरान पुत्र लम्बुनिवासी बाबाकुट्टी, राजा पुत्र सोनुनिवासी बाबाकुट्टी सुजौली, शहवान कुरैशी पुत्र जमील र रहीश कुरैशी पुत्र इकबाललाई पक्राउ गरिएको उनले जनाए ।
यी चार जनालाई बिहीबार पक्राउ गरिएको हो । बुधवार आशिक सिद्दीकी पुत्र मोहम्मद सोफियानलाई पक्राउ गरिएको आदर्श थाना रूपैडियाका प्रहरी अधिकारी सेनाले जानकारी दिए ।
उनीहरूलाई थाना रूपैडिया बहराइचको धारा १५१, १०७ र ११६ सिआरपिसीअन्तर्गत पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ । पक्राउ गरिएकाहरूलाई धार्मिक उन्माद फैलाउन आइटी गतिविधिसम्बन्धी मुद्दा चलाइएको छ ।
रूपैडिया र बाबागञ्जमा सुरक्षा निकायको सामाजिक सञ्जालमाथि लगातार सतर्क दृष्टि रहेको र यदि कसैले धार्मिक सौहार्द वा शान्ति भंग गर्छ भने उसलाई पक्राउ गरी जेलमा राखिने भारतीय प्रहरीले प्रेस नोटमा उल्लेख गरेको छ ।
यता नेपालगञ्जमा भएको धार्मिक सद्भाव बिथोल्ने ६ जनालाई भारतीय प्रहरीले पक्राउ गरेको विषयमा बाँकेका सुरक्षा अधिकारीले अनभिज्ञता प्रकट गरेका छन् । जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले यस विषयमा अनभिज्ञता प्रकट गरे । ‘यस विषयमा मलाई जानकारी छैन,’ उनले भने, ‘उनीहरूले पनि यस विषयमा जानकारी गराएका छैनन् ।’
भारतमा बसेर गतिविधि गरेकालाई उतैको प्रहरीले पक्राउ गर्ने र मुद्दा चलाउने भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले भने, ‘उनीहरूको प्रभाव यहाँ छैन । कति जना भारतमा पक्राउ परे त्यो मेरो जिम्मेवारीसम्मकालाई थाहा छैन ।’
भारतीय प्रहरीले भने नेपालगञ्जमा धार्मिक उन्माद फैलाएको आरोपमा उनीहरूलाई पक्राउ गरेको जनाएको छ । नेपालगञ्जमा सिर्जित पछिल्लो अवस्थामा बाह्य व्यक्तिको संलग्नता भएको आशङ्का गरिएको छ । यही आशङ्काबिच भारतीय प्रहरीले उनीहरूलाई पक्राउ गर्नुमा केही अर्थ रहेको नागरिक समाजका अगुवाहरू बताउँछन् ।
सामाजिक सञ्जालमा सामाजिक तथा धार्मिक सद्भाव बिथोल्न खोज्नेलाई कारबाही गर्नुपर्ने सामाजिक अभियन्ता कृष्णप्रसाद श्रेष्ठले जनाए । ‘भारतीय प्रहरीले पक्राउ परेको विषयमा नेपाली सुरक्षा अङ्ग जानकारीविहीन भएको भन्ने कुरा मलाई पत्याएर लाग्दैन,’ उनले भने, ‘कतिपय संवेदनशील विषयलाई सुरक्षा निकायले बाहिर नल्याएको होला । जानकारी नै नपाउने भन्ने हुँदैन ।’
साथै नेपालगञ्जमा लागेको निषेधाज्ञाको अवज्ञा गरेको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ । शुक्रवार बिपी चोकबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ गरेकाहरूको नाम भने प्रहरीले गोप्य राखेको छ । नेपालगञ्जमा धार्मिक तनाव बढेपछि प्रशासनले लगाएको कर्फ्यु बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म हटाएर दिउँसो निषेधाज्ञा लगाएको थियो । नागरिक न्यूजबाट साभार ।






