Categories समाचार

नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

Advertisement

वीरगन्ज । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । यही परम्परा अनुसार आज घटस्थापना गरेको स्थलमा षोडशोपचारले विधिपूर्वक कात्यायनी देवीको आह्वान गरी पूजा आराधना गरिन्छ । 

Advertisement

कुनै समय देवताहरुको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका रुपमा अवतार लिइछन् । उनको बाल सौन्दर्यबाट मुग्ध भएर कात्यायन ऋषिले पुत्रीका रुपमा स्वीकार गरेछन् । यसैले यिनको नाम कात्यायनी भएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ । 

Advertisement

कात्यायनीको प्रतिमा लक्षणमा शार्दूल वाहन भएकी, दानव घातिनी, हातमा खड्ग लिएकी, एउटा चुल्ठो भएकी, कानमा जपापुष्प (एक प्रकारको फूल) तथा यार्लिङ लगाएकी, गधामा बसेकी, नग्न, ठूलठूला ओठ भएकी र शरीरमा तेल घसेकी हुन्छिन् भनेको पाइन्छ । यस्ती देवीको आज विशेष पूजा आराधना गरिन्छ । नवरात्रको पहिलो दिन असोज २८ गते आइतबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । 

दोस्रो दिन सोमबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन मङ्गलबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौँथो दिन बुधबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो भने पाँचौँ दिन बिहीबार स्कन्दमाता देवीको पूजा आराधना गरियो ।

छैटौँ दिन आज कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन् । 

नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद देशका धेरै भागमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । कतै भने कुल परम्परा अनुसार विजयादशमीका दिनमामात्र लगाउने प्रचलन पनि छ । शास्त्रीय रुपमा दुर्गा पक्षभर अर्थात् कोजाग्रत पूर्णिमासम्म दुर्गा देवीको प्रसादका रुपमा जमरा टीका लगाउन सकिने व्यवस्था रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउछन्। यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व धुमधामका साथ मनाउँछन् ।

दुर्गा पक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ । 

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ ।  काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणी, बगलामुखीलगायत मन्दिरमा घटस्थापनाको बिहानैदेखि भक्तजनको भीड लाग्ने गरेको छ ।

यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, पाथीभरा, दन्तकाली, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, बडीमालिका, उग्रतारालगायत शक्तिपीठमा पनि भक्तजनको भीड लाग्ने गरेको जनाइएको छ । नवरात्र शक्ति प्राप्तिका लागि विशेष रुपमा साधनाको समय हो ।-रासस

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *