काठमाडौँ । मलेसियामा जारी एसीसी यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । मंगलबार खेलिएको फाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा १९ रनले हराउँदै नेपालले उपाधि चुमेको हो ।
फाइनल खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ८० रन बनाएको थियो । यूएईको टोली जवाफी ब्याटिङमा ओर्लिएको केही समयपछि वर्षाका कारण खेल रोकिएको थियो ।वर्षाका कारण लामो समय खेल रोकिएपछि यूएईले २७ ओभरमा एक सय ९८ रन बनाउनु पर्ने गरी नयाँ लक्ष्य पाएको थियो । तर, यूएईले २६.५ ओभरमा अलआउट हुनुअघि एक सय ७८ रनमात्र बनाउन सक्यो । जितसँगै नेपाल प्रिमियर कप च्याम्पियनका रूपमा यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसीसी यू—१९ एसिया कपमा पनि छनोट भएको छ । यूएई उपविजेता र जापान तेस्रो हुँदै यू—१९ एसिया कपमा छनोट भएका छन् ।
जारी प्रतियोगितामा यो उनको दोस्रो शतक हो । यसअघि उनले समूहगत चरणको इरानविरुद्धको खेलमा पनि एक सय रन बनाएका थिए । त्यो खेलमा उनले केवल ६० बलको सामना गरी चार छक्का र १२ चौका हिर्काएका थिए ।
जारी प्रतियोगितामा देव सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान पनि हुन् । उनले जारी प्रतियोगितामा कुल दुई सय ३२ रन बनाएका छन् । यसैगरी जारी प्रतियोगितामा सबैभन्दा छिटो शतक प्रहार गर्ने कीर्तिमान पनि देव खनालले नै बनाएका छन् । उनले इरानविरुद्ध केवल ५९ बलमा शतक पुरा गरेका थिए ।
यूएईविरुद्धको फाइनल खेलमा मंगलबार नेपाली टोलीका ओपनर ब्याट्सम्यान अर्जुन कुमालले पनि अर्धसतक बनाएका छन् । उनले टोलीको खातामा ५५ रन थपे । उनले ७८ बलको सामना गरी चार चौका पनि प्रहार गरेका थिए ।
अर्जुनले साउदी अरेबियाविरुद्धको खेलमा पनि एक सय ४३ रन बनाएका थिए । जारी प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा अर्जुन दोस्रो स्थानमा छन् । उनले जारी प्रतियोगितामा कुल दुई सय ३० रन बनाएका छन् ।
यूएईविरुद्धको फाइनलमा नेपालका अर्का ओपनर दीपक बोहरा भने पाँच रन बनाउँदै पेभेलियन फर्किए । तेस्रो नम्बरका ब्याट्सम्यान आकाश त्रिपाठी भने शून्य रनमै आउट भए । नेपालले १४ रनको कुल स्कोरमा दुई महत्त्वपूर्ण विकेट गुमाएको थियो ।
त्यसपछि देव र अर्जुनले उत्कृष्ट साझेदारी गर्दै टोलीको स्कोरलाई एक सय ३९ रनको बलियो स्थितिमा पुर्याएका थिए । २५.५ ओभरमा देव आउट भएपछि देव र उत्तम थापा मगरले नेपालको स्कोरलाई एक सय ८४ रनसम्म डोर्याएका थिए ।
विकेटकिपर ब्याट्सम्यान उत्तमले पनि टोलीका लागि अर्धशतकीय पाली खेले । उनले ५७ रन बनाए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका उनले केवल ६७ बलको सामना गरी एक छक्का र चार चौका पनि हिर्काएका थिए ।
नेपालका लागि दीपक प्रसाद डुम्रेले पनि अविजित २८ रनको योगदान गरे । उनले ३० बलमा एक छक्का र दुई चौका प्रहार गरे । विशालबिक्रम केसी तीनमा आउट भए । हेमन्त धामीले सात र दीपेश कँडेलले अविजित १० रन बनाए । आकाश चन्दले अविजित एक रन बनाए । नेपालले अतिरिक्त रूपमा १४ रन पाएको थियो ।
यूएईका बलर हरित सेठ्ठीले पाँच र आयान अफजल खानले दुई विकेट लिए । अमर बदामीले पनि एक विकेट हात पारे ।
जवाफी ब्याटिङमा ओर्लिएको यूएईका लागि ध्रुव परासरले अर्धशतकीय पाली खेले । उनले ४९ बलको सामना गरी दुई छक्का र पाँच चौकाको मद्दतले ५९ रन बनाए । ओपनर ब्याट्सम्यान आर्यन्श शर्माले पनि टोलीको खातामा ३२ रन थपे । उनले ३७ बलमा एक छक्का र पाँच चौका हिर्काएका थिए ।
अर्का ओपनर तनिस सुरी भने एक रनमै पेभेलियन फर्किएका थिए । चौथो नम्बरमा क्रिज समाल्न आएका कप्तान आयान अफजल खानले २४ बलमा ३० रन बनाए । उनले २४ बलमा दुई छक्का र एक चौका प्रहार गरे । अमर बदामी नौ रनको ब्यक्तिगत स्कोरमा आउट भए । यायिन किरण राईले १७ रन जोडे ।
नेपाली टोलीलाई रोमाञ्चक जित दिलाउन बलिङतर्फ आकाश त्रिपाठी, सुवाष भण्डारी, हेमन्त धामी र आकाश चन्दले महत्त्वपूर्ण योगदान गरे । आकाश त्रिपाठीले चार र सुवासले तीन विकेट लिएर टोलीको जित सुनिश्चित गरेका हुन् । आकाश चन्दले दुई विकेट लिए । हेमन्तले पनि एक विकेट हात पारे ।
जारी प्रतियोगिताको आफूले खेलेको पाँचवटै खेलमा विजयी हुँदै नेपालले उपाधि चुमेको हो । यसअघि प्रतियोगिताको सेमिफाइनलमा नेपालले जापानलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा एक सय ४४ रनले हराएको थियो ।
त्यसअघि समूहगत चरणमा पनि नेपालले तीनवटै खेल जितेको थियो । नेपालले आफ्नो पहिलो खेलमा इरानलाई दुई सय ७४ रनको विशाल अन्तरले हराएको थियो । दोस्रो खेलमा नेपालले बहराइनलाई सात विकेटले पराजित गरेको थियो । नेपालले तेस्रो खेलमा साउदी अरेबियालाई तीन सय दुई रनले हराएको थियो । प्रतियोगितामा १६ वटा राष्ट्र सहभागी थिए । यो प्रतियोगिताबाट तीनवटा टोली यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसीसी यू—१९ एसिया कपमा छनोट भएका छन् । छनोट प्रतियोगितामा पहिलो हुने नेपाल र दोस्रो हुने यूएई एसीसी यू—१९ एसिया कपको समूह ‘ए’ मा परेका छन् ।
त्यो प्रतियोगिताको समूह ‘ए’ मा भारत र पाकिस्तान छन् । छनोट प्रतियोगितामा तेस्रो हुने टोली जापान भने एसीसी यू—१९ एसिया कपको समूह ‘बी’ मा परेको छ । पाकिस्तानमा आयोजना हुने प्रतियोगिताको समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान रहेका छन् ।साभार






