वीरगञ्ज । मधेस प्रदेशको सर्लाहीमा प्रहरीले आफ्नै बुवाको हत्या गरेको आरोपमा एक जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका – ३ डाबरी निवासी गोकर्ण मैनाली रहेका छन् । उनले आफ्नै बुवा ८१ वर्षीय ओमप्रसाद मैनालीको कोदालो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
बुधवार राति गोकर्णले कोदालो प्रहार गर्दा गम्भीर घाइते भएका ओमप्रसादलाई बिहीबार बिहान घाइते अवस्थामा गाउँलेले देखेपछि उपचारका लागि नमुना अस्पताल हरिवन लगेका थिए ।
त्यहाँ उपचार सम्भव नभएपछि उनलाई पुरानो मेडिकल कलेज चितवन रेफर गरिएकोमा उपचारकै क्रममा राति १० बजेतिर चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
बुवाको हत्यामा संलग्न गोकर्णलाई प्रहरीले हरिवन – ४ तिनघरे लच्का क्षेत्रमा हिँडडुल गरिरहेको अवस्थामा शुक्रवार बिहान पक्राउ गरेको हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले बताए ।
इन्स्पेक्टर गिरीका अनुसार घटनाको सम्बन्धमा थप अनुसन्धान जारी छ ।






