Categories रासस

तनहुँमा डेंगु सङ्क्रमित ६ हजारभन्दा बढी पुगे

Advertisement

दमौली । तनहुँ जिल्लामा दैनिक डेङ्गु सङ्क्रमित थपिने क्रम बढेको छ । दुई महिनाको अवधिमा जिल्लामा छ हजार चार सय ८४ सङ्क्रमित भएका छन् । 

स्वास्थ्य कार्यालय तनहुँका अनुसार व्यास नगरपालिकामा पाँच हजार चार सय १५, शुक्लागण्डकी नगरपालिकामा चार सय, ऋषिङ गाउँपालिकामा एक सय ८९, भिमाद नगरपालिकामा एक सय ८०, म्याग्दे गाउँपालिकामा एक सय तीन, भानु नगरपालिकामा ८३, बन्दीपुर गाउँपालिकामा ४६, आँबुखैरेनी गाउँपालिकामा ३९, देवघाट गाउँपालिकामा १४, घिरिङ गाउँपालिकामा नौ जना सङ्क्रमित भएका छन् । 

Advertisement

सङ्क्रमितमध्ये ५४ प्रतिशत महिला र ४६ प्रतिशत पुरुष रहेका छन् । कुल सङ्क्रमितको ८४ प्रतिशत व्यास नगरपालिकामा मात्रै रहेको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए ।

Advertisement

व्यास नगरपालिकामा सबैभन्दा धेरै वडा नम्बर १ मा एक हजार तीन सय ८६ जना रहेका छन् । वडा नम्बर २ मा एक हजार तीन सय २८ जना सङ्क्रमित भएका छन् । हालसम्म यहाँ डेङ्गुबाट चार जनाको मृत्यु भएको छ ।

डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि सबै स्थानीय तहलाई खोज र नष्ट गर अभियान सञ्चालन गर्न परिपत्र गरिएको अधिकारीको भनाइ छ । अधिकारीका अनुसार पालिकामा आवश्यक पर्ने स्वास्थ्य सामग्रीको व्यवस्था मिलाउन सबै पालिकामा समन्वय गरी कमी हुन नदिने व्यवस्था मिलाइएको छ ।

स्थानीय अस्पतालको दक्षता, क्षमताअनुसार उपलब्ध स्रोत र साधनको अधिकतम सदुपयोग गर्दै बिरामीहरुलाई उपचार गर्ने र जटिलता उत्पन्न हुन सक्ने भएमा बहुविशेषज्ञ चिकित्सकको रेखदेखमा उपचार गर्नुपर्ने देखिएमा सुविधासम्पन्न अस्पतालमा समन्वय गरी पठाउन सबै अस्पताललाई निर्देशन दिइएको छ । 

एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसको साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबरहरु आउनु, अरुचि हुनु, जोर्नी तथा मांशपेशीहरु बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण हो ।

दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालका अनुसार डेङ्गुबाट बच्नका लागि मुख्यतयाः लामखुट्टेको टोकाईबाट जोगिनुपर्दछ । पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हम जस्ता सामग्री प्रयोग गर्नु, सँधै राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरवरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाईबाट बच्न ध्यान पुर्याउनु यसबाट बच्ने प्रमुख उपाय हुन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *