वीरगन्ज । काठमाडौंमा बस्दै आएका पर्साबासीको संस्था पर्सा मिलन केन्द्रले विगत झै यस वर्षपनि पर्सा दिवसको अवसरमा अभिनन्दन तथा सम्मान कार्यक्रम आयोजना गरि मनाएको छ ।
शनिबार काठमाडौंमा सम्पन्न २३ औं पर्सा दिवसमा १० विभिन्न विधाका व्यक्तित्वहरु समानित भएका छन् । दिवसको अवसरमा डिएभी कम्पलेक्स जावलाखेल, ललितपुरमा आयोजित कार्यक्रममा विभिन्न दश विधाका व्यक्तित्वलाई सम्मान गरिएको केन्द्रका कार्यसमिति सदस्य औरन्जेब अहमदले जानकारी गराए ।
उनका अनुसार शिक्षातर्फ प्राडा. रामदेव तिवारी, स्वास्थ्यतर्फ स्त्री रोग विशेषज्ञ प्राडा. अचला वैद्य, कलातर्फ लोकगायक सलीम अहमद, साहित्यतर्फ कवि दिनेश गुप्ता, उद्योगतर्फ ताराचन्द्र केडिया, व्यवसायतर्फ उर्मिला श्रेष्ठ प्रधान, खेलकुदबाट कुस्तीका राष्ट्रिय खेलाडी कुन्दन साह तुरहा, सामाजिकतर्फ मनोज राम, संचारतर्फ रेडियोकर्मी ध्रुवकमार साह तेली र विज्ञान तथा प्रविधितर्फ इञ्जिनियर चन्द्रेश्वर राई सम्मानित भएका हुन।
अहमदले दिनुभएको जानकारी अनुसार ३४ जना विभिन्न विधाका दक्षहरुलाई कदरपत्र प्रदान गरिएको हो । जसमा पहिलो मिस नेपाल रुवी राणा शाह, मिस नेपाल इन्टरनेशनल प्रशिद्धी शाह, एसिड आक्रमण विरुद्धकी सामाजिक अभियन्ता मुस्कान खातुन, बालविवाह विरुद्धको सामाजिक अभियन्ता रिन्कु ठाकुर, राजन श्रीवास्तव, देवेस गुप्तालगायत रहेका छन् ।
सम्मानित हुनेहरुलाई उपराष्ट्रपति रामसहाय यादव र उद्योग तथा वाणिज्य मन्त्री रमेश रिजालले सम्मान गरेका हुन् ।
२००७ सालमा पर्साबाट प्रजातन्त्रका लागि भएको आन्दोलनको सम्झनामा हरेक कार्तिक २६ गते यो कार्यक्रम गर्ने गरिएको भए पनि यसपालि तिहारको लक्ष्मीपूजा परेकाले मंसिर ९ गते गरिएको अध्यक्ष उमेश कुमार गुप्ताले बताए ।








