Categories समाचार

जनमत पार्टी विचार र सिद्धान्तविहीनहरुको जमात हो : अध्यक्ष उपेन्द्र यादव

Advertisement

राजविराज । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवले जनमत पार्टी विचार र सिद्धान्तविहीनहरुको जमात भएको आरोप लगाएका छन् । मंगलबार सप्तरीकाे राजविराजमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष यादवले जनमत पार्टीले अशोभनीय कार्यहरु गरिरहेको आरोप लगाए ।

सोमबार अध्यक्ष यादवले सप्तरीमा कृषि विश्वविद्यालयकाे शिलान्यास गर्दा जनमत पार्टीका नेता कार्यकर्ताहरु विरोधमा उत्रेका थिए ।

Advertisement

‘राजनीति गर्ने व्यक्तिले सरकारमा रहँदाको भूमिका र नरहँदाको भूमिकाबारे जान्न सक्नुपर्छ,’ अध्यक्ष यादवले भने, ‘आफै सरकारमा बस्ने अनि त्यही सरकार मुर्दावाद पनि भन्ने अनि आफूचाहिँ को त ? यो नैतिक प्रश्न हो ।’

Advertisement

जनमत पार्टी सुध्रिनुपर्ने अध्यक्ष यादवको भनाइ छ । ‘कि सुध्रिनुपर्‍यो कि सुधार्नुपर्‍यो,’ अध्यक्ष यादवले भने, ‘उहाँहरु जुन बाटो हिँड्नुभएको छ, जुन हर्कत गरिरहनुभएको छ यो अशोभनीय हो ।’

‘विश्वविद्यालयको शिलान्यासको निर्णय विश्वविद्यालयले गर्ने हो,’ अध्यक्ष यादवले भने, ‘विश्वविद्यालयले निर्णय गरेर हामीलाई बोलायो हामी गयौं, उहाँहरुलाई पनि बोलाएकै हो, आएर सरिक भएको भए हुन्थ्यो नि, आमन्त्रणलाई लत्याएर प्रतिकार गर्छु भन्नु मूर्खता हो ।’

जनमत पार्टीलाई अब गठबन्धनमा बोक्न सक्ने अवस्था नरहेको जसपा अध्यक्ष यादवले बताए । ‘संस्कार सिकोस, सुधारियोस भन्ने हाम्रो चाहना हो तर सुध्रिएन भने कसले कसलाई बोक्छ र ?,’ उनको प्रश्न थियो ।

यसअघि मंगलबार नै जसपा अध्यक्ष यादवले महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजको हातामा निर्मित इन्जिनियरिङ कलेज भवनको उद्घाटन गरे । यादव सप्तरी क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य रहँदा उनकै संसदीय कोषबाट उक्त भवन निर्माण भएको हो । साभार:ईकान्तिपुरबाट

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *