Categories रासस

लाखौं मूल्यका सुन्तला कुहिएर नष्ट, वैज्ञानिक अनुसन्धान गरिँदै

Advertisement

वीरगन्ज । अर्घाखाँचीको पाणिनि गाउँपालिकामा शीतभण्डारमा राखेका लाखौं मूल्यका सुन्तला कुहिएर नष्ट भएपछि किसान चिन्तित बनेका छन्।

पाणिनि गाउँपालिका–२ पोखराथोकमा रहेको शिवशक्ति शीतभण्डारमा पणेनाको सिम्ले र पोखराथोकका किसानले राखेको ९० मेट्रिकटनमध्ये ६३ मेट्रिकटन सुन्तलाका दानामा ढुसी लागेर नष्ट भएको किसान खगेन्द्र पौडेलले बताए।

Advertisement

शीतभण्डारमा राखेका ६३ मेट्रिकटन सुन्तला कुहिएपछि ९० प्रतिकेजीमा सुन्तलाको हिसाब गरे पनि किसानले करिब ५६ लाख ७० हजार घाटा ब्यहोर्नुपरेको छ।

Advertisement

किसान मानबहादुर श्रेष्ठ, चिरञ्जीवी पौडेल, रेवतीराज पौडेल र खगेन्द्र पौडेलले शीतभण्डारमा स्थानीयस्तरमा उत्पादन भएको ९० टन सुन्तला राखेका थिए। बेमौसमी समयमा बढी मूल्यमा बिक्री गर्ने उद्देश्यले राखेका सुन्तलामा ढुसी लागेपछि घाटा परेको किसानको भनाइ छ।

अघिल्ला दुई वर्षमा पनि कुहिएर सुन्तला नोक्सान भएका थियो।

यस वर्ष लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयले गत मंसिरमा विज्ञ प्राविधिक ल्याएर किसानलाई गाउँमै शीतभण्डारमा सुन्तला राख्ने तरिका सिकाएको थियो । सिकाएअनुसार सुन्तला भण्डारण गर्दा पनि कुहिएर नष्ट भएको किसानको भनाइ छ।

सुन्तला कसरी र किन कुहियो भनी आइतबार नेपाल कृषि अनुसन्धान परिषद्का वैज्ञानिक उमेश आचार्यको र कृषि विकास निर्देशनालयको टोलीले स्थलगतरुपमा अवलोकन गरी अनुसन्धान सुरु गरेको कृषि ज्ञानकेन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेले बताए।

वैज्ञानिकको टोलीले गरेको अनुगमनको प्रतिवेदन आउन केही दिन लाग्ने उनले बताए। प्रारम्भिक जानकारीअनुसार सुन्तलाको ‘ट्रिटमेन्ट’ राम्रोसँग नभएको देखिएको छ । अघिल्ला दुई वर्षमा केही मात्रामा कुहिए पनि यसपटक एकैसाथ नष्ट भएको हो । यसरी बर्सेनि सुन्तला बिग्रिँदा किसान चिन्तित भएका छन् ।

लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा पाणिनि गाउँपालिकाले तीन वर्षअघि तीन सय मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण गरेको थियो। सिम्लेका सुन्तला किसानको शिवशक्ति मिश्रित किसान समूहले शीतभण्डार सञ्चालन गरेको छ। सुन्तला पाणिनि गाउँपालिका–१ पणेना र वडा नं २ पोखरा थोकको प्रमुख उत्पादनको स्रोत हो। पणेनामा दुई सय र वडा नं १ सिम्लेमा मात्रै करिब ४९ जना किसानले वार्षिक सुन्तला खेतीबाट घटीमा एक लाखदेखि बढीमा २८ लाखसम्म आम्दानी गर्दै आएका थिए । 

अर्घाखाँचीमा ५ सय हेक्टर क्षेत्रमा सुन्तलाखेती हुन्छ । पाणिनि गाउँपालिका–१ पणेना, वडा नं २ पोखराथोक, वडा नं ४ पटौटी र वडा नं ५ मैदानमा पनि सुन्तला उत्पादन हुने गर्दछ । पाणिनि गाउँपालिकासँगै मालारानी गाउँपालिका, छत्रदेव गाउँपालिकाका विभिन्न स्थानमा सुन्तला खेती हुँदै आएको छ ।-रासस

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *