Categories समाचार

विमानस्थल काण्ड : प्रहरी प्रमुख अर्जुन चन्दको राजीनामा फिर्ता

Advertisement

वीरगञ्ज । विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डिआइजी अर्जुन चन्दको राजीनामा प्रहरी प्रधान कार्यालय, नक्सालले फिर्ता गरेको छ । पत्र रितपूर्वक नभएको भन्दै फिर्ता गरेको प्रहरी हेडक्वार्टर स्रोतले जनाएको छ । चन्दको राजीनामा आएपछि प्रहरीको मानव स्रोत विभागका प्रमुख एआइजी टेकप्रसाद राई लगायतले उनीसँग छलफल गरेका थिए ।

छलफलमा राजीनामा फिर्ता नलिएपछि मानव स्रोत विभागले रितपूर्वक नभएको भन्दै फिर्ता गरेको हो । मानव स्रोत विभागका एक अधिकारीले भने, ‘चन्द सापको राजीनामा स्वीकृत भएन । १० दिन बिदा स्वीकृत गरिएको छ ।’ चन्दको सेवा अवधि सकिन केही महिना मात्र बाँकी छ । २९ वर्ष प्रहरी सेवामा बिताएर केही महिना बाँकी रहँदा राजीनामा दिँदा राम्रो सन्देश नजाने भन्दै आइजिपी वसन्त कुँवरले उनलाई निर्णय फिर्ता लिन भनेका थिए ।

Advertisement

डिआइजी चन्द आइजिपी कुँवरकै ब्याचका हुन् । यसअघि डिआइजी चन्दले शनिवार राजीनामा दिएका थिए । धेरै कोणबाट उनको राजीनामाको पछाडिको कारणबारे चर्चा भइरहेका थिए । उनले विमानस्थलमा प्रहरी र अध्यागमन अधिकृतबिच विवाद हुँदा गृहले बनाएको समितिको प्रतिवेदनमा असन्तुष्टि जनाउँदै राजीनामा दिएको बताइएको छ ।

Advertisement

समितिले प्रतिवेदन बुझाए लगत्तै डिआइजी चन्दले असन्तुष्टि व्यक्त गरेका थिए । १२ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत छायालाल मोक्तानमाथि एक प्रहरीले हातपात गरेका थिए । त्यो दिन चन्द बिदामा थिए । यो मामिलामा प्रहरीले आफ्नो ड्युटी निभाएको भन्दै उनीहरूलाई पुरस्कृत गर्नुपर्ने डिआइजी चन्दले बताउँदै आएका थिए । तर, प्रतिवेदनमा प्रहरीले गलत गरेको भन्ने आएपछि चन्द असन्तुष्ट थिए ।

छानबिन गर्न गृह मन्त्रालयले बनाएको सह–सचिव थानेश्वर गौतम नेतृत्वको समितिले त्यहाँ ड्युटी अफिसर रहेका डिएसपी रेवती रमण पोखरेलसहित असई तामाङ, प्रहरी जवान रवि रञ्जन गुप्ता र अर्का प्रहरी जवान राजकुमार महतोलाई समेत कारबाही सिफारिस गरेपछि चन्द असन्तुष्ट हुन् । अध्यागमन अधिकृत मोक्तानलाई भने विमानस्थलबाट हटाएर गृह मन्त्रालयमा लैजाने सिफारिस मात्रै भएपछि उनी असन्तुष्ट भएको बताइएको छ । त्यसपछि उनको राजीनामा आएको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *