एजेन्सी । भारतीय फिल्म ‘रामायण’को सुटिङ सुरु भएको छ । नितेश तिवारीको निर्देशनमा बनिरहेको यस फिल्मको सुटिङ बुधवार सुरु भएको हो ।
यस फिल्ममा रणवीर कपुर भगवान् राम र साई पल्लवी सीताको भूमिकामा देखिनेछिन् । साउथ सुपरस्टार यशले रावणको भूमिका निर्वाह गर्नेछन् ।
फिल्मको सेटको एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । जसलाई अभिनेत्री आकृति सिंहले सेयर गरेकी छन् । चलचित्रको सेट बाहिरका दुई तस्बिर सेयर गर्दै अभिनेत्रीले लेखेकी छन्, ‘रामायण डे!’ । आकृतिले सेयर गरेका तस्बिरमा सुटिङ सेट पूरै ढाकिएको छ तर, मन्दिरको पुराना स्तम्भ र संरचना देखिन्छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बईको फिल्म सिटीमा गुरुकुलको सेट तयार भइसकेको छ । जहाँ फिल्मको पहिलो सेड्युलमा राम, लक्ष्मण र भरतको बाल्यकालको भूमिका निर्वाह गरेका बाल कलाकारहरूले सुटिङ गरिरहेका छन् ।
हालै फिल्म तयारीका क्रममा रणवीरका केही तस्बिर भाइरल भएका थिए । छिट्टै रणवीरले पनि फिल्मको सुटिङ सुरु गर्नेछन् । यसमा अभिनेता सनी देओल भने हनुमानको भूमिकामा देखिनेछन् । यश भने २०२४ जुलाईमा फिल्मको सुटिङमा सहभागी हुनेछन् ।
रामायणको पहिलो भाग सन् २०२५ मध्यतिर रिलिज गर्ने तयारी छ ।


