वीरगन्ज । पवित्र पर्ब रमजानको रोजा बसेका मुस्लिम धर्मावलम्बीहरुका लागि शुक्रबार साँझ वीरगन्ज महानगरपालिकाकाे आयाेजनामा वीरगन्ज१० आदर्शनगरस्थित पुरानो बसपार्कमा संयुक्त इफ्तारी समारोह सम्पन्न भएको छ ।
आपसी भाईचारा अभिबृद्धि हेतु वीरगन्ज महानगरपालिकाको आयोजनामा भएको इफ्तारीमा महानगरको ३२ वटै वडाका गरी करिब ४ हजार ५ सयभन्दा बढी मुस्लिम धर्मावलम्म्बीहरु सहभागी भएकाे मेयरका जनसम्पर्क सल्लाहकार नवराज फुयाँलले जानकारी दिए।शुक्रबार साँझ आयोजना गरिएको इफतारीमा सहभागी मुस्लिम धर्मावलम्बीहरुलाई महानगरपालिकाले विभिन्न परिकारका साथै जलपान ग्रहण पनि गराएकाे थियाे।
त्यसअवसरमा वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले मुस्लिम ईस्लाम धर्मावलम्बीहरुयको सबैभन्दा ठूलो पर्व रमजानको अवसर पारेर आयोजना गरिएको इफ्तारीमा सहभागि सबैलाई शुभकामना दिँदै धन्यवाद पनि ब्यक्त गरे ।
एक अर्काकाे धर्म र पर्वप्रति सम्मान गर्दै आपसी सद्भाव र धार्मीक सहिष्णुता कायम राख्न मुस्लिमहरुको मुख्य पर्व रमजानको उपलक्ष्यमा महानगरपालिकाले गत वर्षदेखि रमजानमा संयुक्त इफतारी समाराेह आयाेजना गर्दै आएकाे भन्दै मेयर सिंहले यसलाई आगामी बर्षपनि निरन्तरता दिने बताए ।
इफ्तारी समाराेहमा महानगरका उपमेयर इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई , विभिन्न वडाका वडाध्यक्ष,अन्य धर्मका अगुवा,महानगरपालिकाका कर्मचारी लगायतको पनि सहभागिता थियो ।








