Categories समाचार

कुख्यात अपराधी शेख नुरुल्लाह पक्राउ

वीरगंज । नेपाल प्रहरीको सर्वाधिक खोजीको सूचीमा राखेको कुख्यात अपराधी शेख नुरुल्लाह पक्राउ परेका छन् । उनी १० महिनापछि पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटले आइतबार पत्रकार सम्मेलन गरी रौतहट देवाही गोनाही नगरपालिका– १ घर भएका ५२ वर्षीय शेख नुरुल्लाहलाई सार्वजनिक गरेको हो ।

Advertisement

अपराध क्षेत्रको मास्टर माइन्ड मानिने नुरुल्लाहलाई रौतहटको राजदेवी नगरपालिका-८ लक्ष्मीपुर बेलविछवा चोकनजिकैको नेपाल–भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) एलिजा गिरीले जानकारी दिइन् ।

Advertisement

२०८० जेठ ११ गते मध्य राति साढे १२ बजेको समयमा देवाही गोनाही नगरपालिका–१ करुनिया गाउँमा ७८ वर्षीय शेख तैयवलाई शेख नुरुल्लाहको आदेशमा सोही स्थानका शेख शेराज, शेख सद्दाम भन्ने खलिउल्लाह र भारतीय नागरिक राकेशकुमारले गोली हानी हत्या गरेका प्रहरीको भनाइ छ ।

शेख शेराज र भारतीय नागरिक राकेश कुमार पक्राउ परी कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि कारागारमा छन् । मुख्य योजनाकार नुरुल्लाह र उनका भाइ खलिउल्लाह फरार थिए । वृद्ध तैयवको हत्या गराउने मुख्य योजनाकार शेख नुरुल्लाह र खलिउल्लाविरुद्ध गत पुस १६ गते जिल्ला अदालत रौतहटले ज्यान कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो ।

गोप्य सूचनाका आधारमा प्रहरीले सीमावर्ती क्षेत्रहरूमा विशेष निगरानी बढाएको र सोही क्रममा आइतबार बिहान नुरुल्लाहलाई पक्राउ गर्न सफल भएको डिएसपी गिरीले बताइन् ।

माधवनारायण नगरपालिका–२ खेसरहिया बजारस्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साहको हत्यामा उनी समेत मुछिएका छन् । २०७७ साल भदौ ३ गते राति ९ बजेतिर पुजारी साह मन्दिर परिसरमा खाना खाँदै गरेको अवस्थामा नुरुल्लाहले देव्रे कन्चटमा गोली हानी हत्या गरेको प्रहरीको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *