वीरगन्ज । अबैध तरिकाले नेपाल भित्र्याइएको दुई करोड वीस लाख बराबरको विभिन्न ब्राण्डका कपडाहरू पक्राउ गरि पर्सा प्रहरीले भन्सार बुझाएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले गत बिहीबार वीरगन्ज महानगरपालिका वडा नम्बर ६ स्थित रहेको तुल्सयान मार्केट( पमपम बिल्डिङ्ग ) बमट अन्दाजी दुई करोड बीस लाख मूल्य बराबरको विभिन्न किसिमका लत्ताकपडाहरू नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि शुक्रबार वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाएको छ ।
पमपम बिल्डिङ्गमा घरकोठा भाडामा लिइ सोही बिल्डिङमा संचालन गरेका वीरगन्ज -१६ बस्ने वर्ष २४ का आकाश कुमार गुप्ता र वडा नम्बर ६ बस्ने वर्ष ४४ का रामएकवाल कुशवाहाको गोदाम तथा हाल सम्म नामथर वतन नखुलेका छ वटा अन्य गोदामहरूबाट सर्टिङ सुर्टिङ थान कपडा, सर्ट थान कपडा, पाइन्ट थान कपडा, सुती प्रिन्टेड कपडा, ढाकाको थान कपडा, साडी, कुर्ता सुरवाल, मर्दानी धोती, ब्लाउज थान कपडा, चोलो बनाउने थान कपडाहरू लगायत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएको मालबस्तुहरू वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीद्वारा सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।


