Categories समाचार

हामी अध्यक्ष सँग छौं कोही टसमस हुने अवस्थामा छैन : मुख्यमन्त्री यादव

Advertisement

वीरगञ्ज । विभाजित भएको जनता समाजवादी पार्टी नेपाल (जसपा) को मधेस प्रदेशका अधिकांश प्रदेशसभा सदस्यहरू उपेन्द्र यादव कै पक्षमा उभिएका छन् ।

आइतबार अशोक राईको नेतृत्वमा सात जना सांसदहरूले पार्टी विभाजित गरेपछि जसपा मधेस प्रदेश सरकारको नेतृत्व समेत फेरिने सम्भावना बढेको थियो । यद्यपि जसपा मधेस प्रदेशमा जसपाका अधिकांश प्रदेशसभा सदस्यहरू उपेन्द्र यादव कै पक्षमा रहेको बुझिएको छ ।

Advertisement

पार्टीबाट निर्वाचित अधिकांश प्रदेशसभा सदस्यहरू उपेन्द्र यादव कै पक्षमा देखिएपछि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीको समर्थनमा सरोजकुमार यादवको नेतृत्वमा रहेको मधेस सरकार परिवर्तन हुने सम्भावना हालका लागि भने टलेको छ ।

Advertisement

दल विभाजन भएपछि सोमबार मुख्यमन्त्री यादवले जसपा संसदीय दलको बैठक बोलाएका थिए । सो बैठकमा मधेस प्रदेशमा रहेका जसपाका १९ प्रदेशसभा सदस्यहरू मध्ये १६ जनाको उपस्थिति रहेको दाबी गरिएको छ ।

मुख्यमन्त्री यादवको निवासमा बसेको संसदीय दलको बैठकमा १६ जना प्रदेशसभा सदस्यहरू पुगेका जसपाका एक प्रदेशसभा सदस्यले यात्रा डेलीलाई बताए । बैठकमा सरोज सिंह कुशवाहा, शारदा शङ्कर साह र साहिदा खातुन भने अनुपस्थित थिए ।

तीमध्ये साह र खातुन विवाहमा व्यस्त भएको र कुशवाहा पार्टीकै काममा ब्यस्त रहेकाले बैठकमा उपस्थित हुन नसकेको मुख्यमन्त्री यादवले दाबी गरेका छन् । ‘हामी सबै उपेन्द्र यादवसँग छौं। कोही टसमस हुने अवस्थामा छैन,’ उनले भने । केन्द्रमा पार्टी फुटे पनि प्रदेशमा भने सबै सांसदहरू एक ढिक्का रहेको उनको भनाई छ ।

‘मधेस प्रदेशमा विभाजनको केही प्रभाव गर्दैन। सबै प्रदेश सांसद एक ढिक्का छन् । जुन नेताहरूले पदको लोभमा पार्टी छोडे उनीहरू कसैको भविष्य रहँदैन,’ मुख्यमन्त्री यादवले भने, ‘फुटेर जाने सबैको राजनीति समाप्तै भएको छ। फुटेको पार्टीका कसैको राजनीति उँभो लागेको छैन ।’

मधेस प्रदेशमा आफूहरू सरकारमा रहने वा नरहने सङ्घमा बन्ने समीकरणले निर्धारण गर्ने पनि उनले बताए । ‘अहिले मलाई रिजाइन गर्ने जरुरी नै छैन। पार्टीको निर्णय अनुसार अघि बढ्छु,’ उनले भने ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *