वीरगञ्ज । झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएका वीरगञ्जका दुई जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ । झुठो विवरण पेश गरेर नागरिकता लिएका आमा छोरालाई प्रहरी चौकी आदर्शनगरले पक्राउ गरेको हो ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगर निवासी अमन जलान भन्ने अमन चौधरी र निजकी आमा अंजु चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । २३ साउन २०८० मा बसेको मन्त्रीपरिषद्को बैठकले अमन चौधरी (अग्रवाल) ले झुठो विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय पर्साबाट लिएको नागरिकता रद्द गरी कारबाही गर्ने निर्णय गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय पर्साबाट २५ कार्तिक २०७७ मा अमनले वंशजको आधारको नेपाली नागरिकता लिएका थिए । मन्त्रीपरिषद्को निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय पर्साले ३१ भदौ २०८० मा भारतीय नागरिक अमन चौधरी (अग्रवाल) को नागरिकता रद्द गरेको थियो ।
उनीहरु विरुद्ध असोज २०८० मा पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएपनि उनीहरु नेपाल प्रहरीको फरार प्रतिवादी सूचीमा थिए । शुक्रवार बिहान प्रहरी चौकी आदर्शनगरले देखेर पक्राउ गरेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक केशर कुमार न्यौपानेले जानकारी दिए । उनकाअनुसार दुवै जनाविरुद्ध नागरिकता सम्बन्धी कसूरमा कारवाही प्रक्रिया अघि बढाइएको छ । साभार : यात्रा डेली







