Categories समाचार

उपेन्द्र यादवलाई फेरी ठूलो झट्का…

वीरगञ्ज । उपेन्द्र यादव निकट जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) लाई फेरी ठूलो झट्का लागेको छ । मूल पार्टी फुटेर अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) गठन भएको केही दिन नबित्दै युवा र विद्यार्थी सङ्गठनहरूले पनि उनको साथ छोडेका छन् ।

पार्टी निकट रहेको समाजवादी युवा सङ्घ र समाजवादी विद्यार्थी युनियनका पदाधिकारीहरूले पनि उपेन्द्र यादवलाई छोडेर अशोक राईको साथ दिने निर्णय गरेका छन् । युवा सङ्घ पर्सा र विद्यार्थी युनियन पर्साले शनिवार छुटाछुटै प्रेस विज्ञप्ति जारी गर्दै जसपा नेपालको भातृ सङ्गठनको रूपमा काम नगर्ने जनाएका छन् ।

Advertisement

युवा सङ्घ पर्साका अध्यक्ष गौरव वर्मा र विद्यार्थी युनियन पर्साका अध्यक्ष हरिन्द्र साहले उपेन्द्र यादवको साथ छोडेर अब अशोक राईको साथ दिने घोषणा गरेका हुन् ।

Advertisement

‘जनता समाजवादी पार्टी नेपालको भातृ सङ्गठनको रूपमा रहेको समाजवादी युवा सङ्घ, नेपालमा आबद्ध रही सक्रिय भूमिका निर्वाह गर्दै आइरहेकोमा आजको मितिदेखि समाजवादी युवा सङ्घ, नेपाल जिल्ला कार्य समिति पर्सा जनता समाजवादी पार्टी नेपालको भातृ सङ्गठनको रूपमा कार्य नगर्ने र सो पार्टीसँग कुनै सरोकार नराख्ने गरी समाजवादी युवा सङ्घ, नेपाल पर्सा अब उप्रान्त (अशोक राई) नेतृत्वमा रहेको जनता समाजवादी पार्टीमा आबद्ध रहेको ब्यहोरा सम्बन्धित सवैमा जानकारी गराइन्छ,’ वर्माले प्रेस विज्ञप्तिमा लेखेका छन् ।

त्यस्तै विद्यार्थी युनियन पर्साका अध्यक्ष साहले जारी गरेको विज्ञप्तिमा पनि आजको मितिदेखि समाजवादी विद्यार्थी युनियन नेपाल जिल्ला कार्य समिति पर्सा जनता समाजवादी पार्टी नेपालको भातृ सङ्गठनको रूपमा कार्य नगर्ने र सो पार्टीसँग कुनै सरोकार नराख्ने गरी विद्यार्थी युनियन पर्सा अब उप्रान्त (अशोक राई) नेतृत्वमा रहेको जनता समाजवादी पार्टीमा आबद्ध रहेको जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *