वीरगन्ज । अत्यधिक गर्मी र तातो लु का कारण समस्यामा परेका वीरगन्जसहित पर्साबासी बुधबारदेखिनै विद्युत कटौतीले प्रभावित भएका छन् । वीरगन्ज महानगर क्षेत्रमा बुधबारराति देखिनै अवरुद्ध विद्युतको आपुर्ति हुन नसक्दा उचाक्ली गर्मीले जनजीवन प्रभावित भएको हो ।
बुधबार राति १२ बजेतिर वर्षासहित आएको आँधीहुरीका कारण ठाँउ ठाँउमा विद्युतको पोल भाँचिएर लडेको र केहि ठाँउको ट्रान्फर्मरपनि खसेपछि वीरगन्ज महानगर क्षेत्रमा विद्युत आपुर्ति सेवा अवरुद्ध भएको थियो ।
विद्यूत प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख अवधेश कुमार दुबेका अनुसार, रातिको आँधीहुरीले वीरगन्ज महानगरका विभिन्न स्थानमा गरी करिब २५ वटा विद्युतको पोल भाँचिएर ढलेको थियो भने लालपर्सा र रतनपुरमा ट्रान्फर्मर नै पोलबाट खसेर क्षति भएको थियो ।
वीरगन्ज ३० लालपर्सामा मात्रै १० वटा पोल भाँचिएर ढलेको थियो । यस्तै वीरगन्जको पावरहाउस चोकमा पनि ५ वटा पोल लडेको जानकारी उनले दिएका थिए ।
तीन दिनदेखि विद्युत प्राधिकरण र महानगरको विद्युत शाखाले मर्मतसम्भारको कार्यलाई निरन्तरता दिएपनि हालसम्म महानगरको कैयौं ग्रामीण वडाहरुमा विद्युत आपुर्ति सुचारु हुनसकेको छैन । शहरी वडाहरुमा सुचारु भएपनि अनियमित विद्युत कटौती भइरहेकाले सर्वसाधारण मर्कामा परेका छन् ।






