Categories रासस

बुर्तिवाङ स्वास्थ्य केन्द्र ५० शय्याको अस्पतालमा स्तरोन्नति हुँदै

Advertisement

बागलुङ । जिल्लाको बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई आगामी आर्थिक वर्षदेखि प्रदेश अस्पतालका रूपमा सञ्चालन गरिने भएको छ ।

ढोरपाटन नगरपालिकाको केन्द्रमा रहेको उक्त स्वास्थ्य केन्द्रलाई ५० शय्रयाको अस्पतालमा स्तरोन्नति गरिने गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ ।

Advertisement

यसअघि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको जिल्ला अस्पतालमा रूपान्तरण गर्ने योजनाअनुसार भौतिक पूर्वाधार निर्माण गरिएको भए पनि त्यो पूरा भएको थिएन । तत्कालीन बागलुङ जिल्ला अस्पताल खारेज भएर बागलुङ बजारमा धौलागिरि अस्पताल बनेपछि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई जिल्ला अस्पताल बनाउन भवन निर्माण गरिएको थियो ।

Advertisement

कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलगायतका विषयलाई प्राथमिकतामा राखेर मङ्गलबार गण्डकी प्रदेशसभा बैठकमा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा बागलुङको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र र गोरखाको आँपपीपल अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गरिने जनाइएको छ ।

गण्डकी प्रदेश सरकारको सिफारिसमा सङ्घीय सरकारले बागलुङको बुर्तिवाङ र गोरखाको आँपपिपलमा ५० शय्याको प्रदेश अस्पताल बनाउन गत फागुन ६ गते मन्त्रिपरिषदले निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयन गर्ने विषय नीति तथा कार्यक्रममा उल्लेख छ । स्वास्थ्य केन्द्र ५० शय्याको अस्पताल भएमा ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बडिगाड गाउँपालिकाका स्थानीय लाभान्वित हुनेछन् ।

विसं २०५२ मा स्थापना भएको उक्त स्वास्थ्य केन्द्रबाट नियमित रूपमा बहिरङ्ग सेवा, गर्भ जाँच, सुत्केरी सेवा, आधारभूत प्रयोगशाला परीक्षण, खोप सेवा, परिवार नियोजन, क्षयरोग र कुष्ठरोगको उपचार हुँदै आएको छ । यस क्षेत्रका जनतालाई स्वास्थ्य सेवा दिने उद्देश्यले जिल्ला अस्पताल बनाउने निर्णय गरी रु। ३२ करोडको लागतमा संरचना निर्माण भइसकेका छन् ।

स्वास्थ्य केन्द्रलाई प्रदेश मातहतको अस्पताल बनाउने निर्णयपछि सङ्घीय सरकारले प्रदेश सरकार मार्फत आगमी आर्थिक वर्षका लागि रु। १५ करोड बजेट विनियोजन गरेको ढोरपाटन नगरपालिकाका स्वास्थ्य शाखा संयोजक केशव थापाले राससलाई जानकारी दिनुभयो । उक्त बजेट बुर्तिावाङ स्वास्थ्य केन्द्र र गोरखाको आँपपिपलमा अस्पतालको हो ।

तीन शय्याको प्राथमिक स्वास्थ्य केन्द्रलाई ढोरपाटन नगरपालिका स्थापना पछि १५ शय्याको पालिका अस्पतालका रूपमा सञ्चालन गरिरहेको छ । हाल स्वास्थ्य केन्द्रमा दुई जना विशेषज्ञ र तीन जना मेडिकल अधिकृत कार्यरत छन् ।

नीति तथा कार्यक्रममा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न मनाङ र मुस्ताङ अस्पताललाई २५ शय्या, पर्वत, स्याङ्जा, दमौली, मध्यबिन्दु र मातृशिशु मितेरी अस्पताललाई ५० शय्या क्षमतामा र अमरापुरी स्वास्थ्य चौकी, गैंडाकोटलाई स्तरोन्नति गरिने उल्लेख छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *