Categories अर्थ

आज ३८ अर्ब बढीको बजेट ल्याउँदै मधेश सरकार

वीरगंज। मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८१/०८२ का लागि शनिवार बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार मधेश सरकारले बजेट ल्याउने तयारी गरेको छ । देशका सातवटै प्रदेशमा एकै दिन बजेट सार्वजनिक गरिन्छ ।

मधेश प्रदेशका अर्थ मन्त्री भरतप्रसाद साहले दिएको जानकारी अनुसार प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करिब ३८ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ । बजेट प्रस्तुत गर्न प्रदेश सभाको बैठक शनिवार दिउँसो ४ बजे डाकिएको छ ।

Advertisement

सरकारमा पटक–पटक मन्त्री बनेका साहले पहिलो पटक भने बजेट प्रस्तुत गर्न लागेका छन् । ‘चालु वर्षभन्दा आगामी वर्षमा बजेटको आकार घटेर आउने सम्भावना छ’ अर्थमन्त्री साहले भने–‘सो बजेटमा संघीय सरकारले मधेश प्रदेशका लागि छुट्याएको बजेटसमेत गरी प्रदेशको बजेट ल्याइने तयारीमा छौँ ।’

Advertisement

सबै मन्त्रालयलाई पठाइएको बजेट सिलिङ र मार्गनिर्देशनको आधारमा बजेट निर्माण हुने उनले बताए । चालु आर्थिक वर्षमा मधेश प्रदेश सरकारले ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो । यस पटक पनि सोही हाराहारीमा आउने सम्भावना रहेको अर्थ मन्त्रालयका एक कर्मचारीले बताए ।

मधेश प्रदेश बजेटको मुख्य स्रोत संघीय सरकारले उपलब्ध गराउने बजेट नै हो । प्रदेश सरकारको आन्तरिक आयस्रोतमा मालपोत कार्यालयको रजिष्ट्रेशन शुल्कबाट आउने रकम नै प्रमुख रहेको छ । मधेश प्रदेशमा अन्य करहरु मध्ये सवारी कर, मनोरञ्जन कर, घरजग्गा कर, स्थानीय तहले लगाउने बालुवागिट्टी, ढुंगा ठेक्का कर लगायत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *