धनगढी । छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छन् । अछाममा छाउगोठमा बसेकी किशोरी आफ्नै नातेदारसंग बलात्कृत भएकी हुन्।
मंगलबार बेहोस् अवस्थामा भेटिएकी १६ वर्षीया किशोरीमाथि बलात्कार भएको खुलेको प्रहरीले जनाएको छ ।
किशोरीलाई छाउगोठमा बेहोस् अवस्थामा भेटेपछि उद्दार गरेर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी सन्तोष पाठकले बताए ।
डीएसपी पाठकका अनुसार उपचारपछि किशोरीले आफूमाथि जबरजस्ती करणी भएको बताएकी थिइन् । उनको बयानका आधारमा जबरजस्ती करणी गरेको आरोपमा १७ वर्षीय किशोरलाई पक्राउ गरिएको उनले बताए ।
उनकाअनुसार पक्राउ परेका किशोर उनीसंगै एउटै विद्यालयमा अध्ययन गर्छन् ।






