Categories हाइलाइट-समाचार

सिमलताल पहिरोमा वेपत्ता भएकाहरुको परिवारलाई भेट्दै मेयर सिंह भने : तपाईहरुको पीडामा हामी साथमा छौँ

वीरगंज । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेको एन्जल बसमा सवार रहेका वीरगंजका ३ जनाका परिवारसँग वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले भेट गर्नु भएको छ ।

तीनै जना वीरगंज महानगरपालिका वडा नं. १६ का रहेका छन् । उनीहरुको परिवारसँग मेयर सिंहले बुधबार बिहान भेट गर्नु भएको हो ।

Advertisement

पहिरोमा परि त्रिशुली नदीमा खसेको बसमा सोही बसका चालक वीरगंज १६ नगवाका जवाहिर महतो, बारा जिल्ला स्थायी घर भई नगवामा बसोबास गर्दै आएका चन्देश्वर पंडितका २२ वर्षीय छोरा अरविन्द पणित र नगवाकै नयाँ वस्तीका हरेन्द्र पणित रहेका थिए ।

Advertisement

नदीमा खसेको बस र यात्रुको खोजी कार्य चलिरहेको भए पनि उनीहरुलाई अहिलेसम्म फेला पार्न सकिएको छैन ।
२ छोरा, १ छोरी र श्रीमती रहेका जवाहिरले रात्रि बस चलाएर जिविकोपार्जन गर्दै आएका थिए । घरको मूली (जवाहिर) नै नरहेपछि परिवार विचल्लीमा परेका छन् ।

चालकका परिवारसँग भेट गर्दै मेयर सिंहले बालबालिकाको अध्ययनको सम्पूर्ण जिम्मेवारी महानगरपालिकाले लिने बताउनुहुँदै जिविकोपार्जनका लागि आवश्यक व्यवस्था मिलाउन महानगर तयार रहेको बताउनुभयो ।

यस्तै शिक्षण अस्पताल काठमाडौँबाट बीएससी नर्सिङ पूरा गरि सेवा अवधिका लागि पत्र बुझ्न हिँडेका अरबिन्द पणितका परिवारसँग भेट गर्दै मेयर सिंहले पीडित परिवारको साथमा आफू सँधै रहेको बताउनुभयो ।

यस्तै नगवा नयाँ टोलका ४५ वर्षीय हरेन्द्र पणितको परिवारलाई पनि मेयर सिंहले भेट गर्नुभयो । काठमाण्डौमा फर्निचरको काम गर्दै आएका उनी पनि सोही बसमा गइरहेका थिए ।

भरतपुर महागनरपालिका वडा नं. २९ सिमलतालस्थित सडकबाट गएको असार २८ गते शुक्रबार बिहान ३ बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०३९००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस पहिरोसँगै बगेर त्रिशूलीमा बेपत्ता भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *