वीरगञ्ज । भरतपुर महानगरपालिका-२९ सिमलताल नजिकै पहिरोमा परेर हराइरहेको एञ्जल डिलक्स बसमा सवार मृतक तथा बेपत्ताका परिवारलाई राहतका लागि आवश्यक कागजात पेस गर्न जिल्ला प्रशासन कार्यालय पर्साले अनुरोध गरेको छ। आज सार्वजनिक सूचना जारी गर्दै कार्यालयले पर्साका चार स्थानीय तहलाई पनि आफ्नो पालिकाका मृतक र बेपत्ता भएका परिवारलाई राहत रकमका लागि आवश्यक कागजातसहित सिफारिस गर्न अनुरोध गरेको छ।
असार ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले बाढीपहिरो जस्ता विपद्जन्य घटनाका कारण बेपत्ता भई १० दिनसम्म पनि फेला नपरेको अवस्थामा पीडितका परिवारलाई मृतक सरह राहत उपलब्ध गराउने निर्णय गरेअनुसार आवश्यक प्रक्रियाअघि बढाइएको कार्यालयले जनाएको छ।
उक्त बसमा पर्सा जिल्लाका चार पालिकाका १० जना नागरिक सवार रहेका थिए। वीरगञ्ज महानगरपालिका, बहुदरमाई नगरपालिका, पर्सागढी नगरपालिका, र सखुवा प्रसौनी गाउँपालिका यसमा समावेश छन्। मृतक तथा बेपत्ता भएका व्यक्तिहरूमा सुजितकुमार साह, ओमहरि यादव, रैफुल आलम, जवाहीर महतो, हरिन्द्र पण्डित, हृदयनारायण राउत, भगवती देवी, चन्द्रप्रभाकुमारी चौधरी, सलिम मियाँ, र सैनफ खातुन रहेका छन्।
जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद खतिवडाका अनुसार, मृतक तथा बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत रकमका लागि चारवटै पालिकालाई आवश्यक कागजातसहित सिफारिस गर्न आग्रह गरिएको छ। यसका लागि मृतक तथा बेपत्ता व्यक्तिको परिवारबाट निवेदन, सम्बन्धित वडा कार्यालयको किटानी सिफारिस, मृतकको नागरिकता र मृत्यु दर्ता प्रमाणपत्र, मृतकसँगको नाता प्रमाणित गर्ने कागजात, र नाम थर फरक परेमा सोको किटानी सिफारिस आवश्यक पर्नेछ।







