वीरगंज । वीरगंज महानगरपालिकाले विद्यार्थी र शिक्षकको अनुपातका आधारमा विधि प्रकृया सम्मत दरबन्दी मिलान गरेकाले सबै शिक्षक तोकिएको विद्यालयमा हाजिर हुन दरबन्दी मिलान कार्यदलका सदस्यहरुले आह्वान गरेका छन् ।
वीरगंजको शैक्षिक अवस्थालाई सुदृढ बनाउने गरी विषयगत शिक्षकहरुको कमीलाई सम्बोधन गर्दै दरबन्दी मिलान गरिएकाले कसैको उक्साहटमा नलागी तोकिएको विद्यालयमा हाजिर भएर शैक्षिक कार्यमा सकृय हुन सबै शिक्षकहरुलाई आग्रह गरेका हुन् ।
नेपाल शिक्षक महासंघका नगरकमिटी अध्यक्ष एवं शारदा माद्यमिक विद्यालयका प्रधानाध्यापक समेत रहेका कार्यदलका सदस्य विनोद मेहताले बाहिर केही व्यक्तिले कुप्रचार गरेर वीरगंजको शैक्षिक अवस्था विथोल्न खोजेको बताए । उनले अनधिकृत रुपमा महासंघको व्यानर प्रयोग गरेर शिक्षकहरुलाई भड्काउने काम गरेको भन्दै महासंघ महानगरले गरेको दरबन्दी मिलानको पक्षमा रहेको स्पष्ट परे ।
उनले कुनै एउटा विद्यालयमा एउटा विषयको तीन चार जना शिक्षक रहेको र अर्कोमा त्यस्तै गरी थुप्रिएको अवस्थामा त्यसलाई विद्यार्थी अनुपातको रुपमा वितरण हुने गरी मिलान गरिएको बताए ।
महानगरपालिकाले दरबन्दी मिलानलाई पारदर्शी बनाउन कार्यदलमा हरेक सेक्टरका प्रतिनिधि सहभागि गराएको भन्दै कुनै व्यक्तिको व्यक्तिगत इच्छा पुरा नहुँदा दरबन्दी मिलानको कामलाई अनियमितता भयो भनेर दुष्प्रचार गरिएको आरोप लगाए ।
शिक्षक भए पछि आफ्नो मर्यादा, तथ्य र आधारमा रहेर प्रतिकृया दिनु पर्नेमा अरुको चरित्र हत्या हुने गरी न्यायाधीश बनेर अभिव्यक्ति दिनु अशोभनीय भएको पनि बताए ।
यस्तै शिक्षक महासंघका केन्द्रीय उपाध्यक्ष एवं कार्यदलका सदस्य हरेन्द्र चौरसियाले केही व्यक्तिहरु आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न लागि परेको भन्दै त्यो सपना पुरा नहुने बताए ।
महानगरको सोच, शिक्षा समितिको निर्णय एवं कार्यदलको अथक प्रयासबाट विद्यार्थीको अनुपातमा शिक्षकको दरबन्दी मिलान गर्ने काम गरिएको भन्दै उनले व्यक्तिगत स्वार्थ पूरा नहुँदा केही व्यक्तिहरु यसलाई बदनाम गर्न लागिपरेको बताए ।
उनले आफ्नो सरुवा हुँदा दौडिएर हाजिर हुन जाने आफूलाई महासंघको अध्यक्षको रुपमा प्रस्तुत गर्ने प्रदीप कुमार जयसवाल अरुलाई भने हाजिर नहुन भन्दै उर्दी जारी गर्नु अशोभनीय रहेको पनि बताए ।
आफू महासंघको केन्द्रीय उपाध्यक्ष रहेको र वीरगंजमा महासंघको अध्यक्ष रुपमा विनोद मेहतालाई बुझेको र अर्को कुनै पनि समिति विधिवत रुपमा गठन नभएको पनि बताए । बाहिर नयाँ समिति बनेको भनेर प्रचार प्रसार भएको सुनेको भन्दै उनले यसका विरुद्ध आफै कानूनी उपचारमा जान लागेको पनि बताए ।
सबै शिक्षकहरुलाई विद्यार्थीको अनुपात र आवश्यकताका आधारमा मिलान गरिएको भन्दै यसलाई विभिन्न बहाना गरेर केही व्यक्ति व्यक्तिगत स्वार्थसिद्ध गर्न खोजिरहेको भन्दै सबै यसबेला सबै शिक्षक सचेत हुन जरुरी रहेको बताए ।
कुन विद्यालयमा कति शिक्षक चाहिएको हो, कुन विद्यालयमा कति विद्यार्थी छन ? अनि अंग्रेजी माध्यम चलिरहेका चार वटा माद्यमिक विद्यालयको अवस्था र राष्ट्रिय मापदण्ड एवं कार्यदलले पाएको जिम्मेवारीका आधारमा दरबन्दी मिलानको कार्य आफूहरुले सम्पन्न गरेको पनि उनले बताए ।
विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न आफूलाई खटाएको ठाउँमा गएर शैक्षिक वातावरण बनाउँदै काम गर्नु शिक्षकहरुको दायित्व रहेको भन्दै उनले केही व्यक्तिको लहलहैमा लागेर उनीहरुको स्वार्थ सिद्ध हुने कार्यमा संलग्न नहुन आग्रह गरे । उनले दरबन्दी मिलानका क्रममा जहाँ पठाइएको छ त्यहाँ गएर शैक्षिक कार्य अघि बढाउँदै महानगरको शैक्षिक अवस्था सुदृढ बनाउने कार्यमा जुट्न सबै शिक्षकलाई आह्वान समेत गरे ।






