वीरगञ्ज । सार्वजनिक बिदाको दिनमा पनि सरकारी अस्पतालमा बहिरंग सेवा (ओपीडी) सञ्चालन गर्न सरकारले दिएको निर्देशनप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ ।
संघका महासचिव डा. सञ्जीव तिवारीले विज्ञप्ति जारी गरी चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको शारीरिक तथा मानसिक स्वास्थ्यको बेवास्ता गर्दैै सरकारले गरेको निर्णय अव्यवहारिक र अवैज्ञानिक भएको बताएका छन् । उक्त निर्णय तुरुन्तै फिर्ता लिन पनि माग गरेका छन् ।
सरकारी अस्पतालमा २०४८ सालदेखि दरबन्दी थप नभएको र अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक जनशक्ति तथा सेवा सुविधा न्यून रहेको डा. तिवारीले बताए ।
स्वास्थ्यकर्मीलाई आराम गर्नका लागि हप्ताको दुई दिन बिदा दिने अन्तर्राष्ट्रिय प्रचलन रहेको तर नेपालमा सार्वजानिक बिदाको दिनमा पनि ओपीडी सेवा सञ्चालन गर्ने निर्णय गर्नु अवैज्ञानिक भएको संघको ठहर छ ।
कामको अत्यधिक बोझ र अरु तनावले गर्दा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको परिवारमा असमझदारी, वैवाहिक जीवनमा तनाव तथा सम्बन्ध विच्छेदका घटनासमेत भएको संघले जनाएको छ ।
कतिपय स्वास्थ्यकर्मीमा अत्यधिक तनावका कारण मानसिक समस्याको जोखिम बढिरहेको भन्दै चिकित्सक संघले बिदाको दिनमा समेत थप कार्यबोझ थप्ने निर्णयले स्वास्थ्यकर्मीलाई ठूलो अन्याय गरेको निष्कर्ष निकालेको छ ।
७ भदौमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले स्वास्थ्य मन्त्रालयमा पत्र लेखी सार्वजनिक बिदाको दिनमा पनि सेवा प्रवाह गर्न आग्रह गरेको थियो ।
स्वास्थ्य मन्त्रालयले सोमबार स्वास्थ्य संस्थालाई एक परिपत्र गर्दै सार्वजनिक बिदाको दिनमा अस्पतालले ओपीडी सेवासहित सबै प्रकारका सेवा प्रवाह निर्देशन दिएको छ ।