वीरगन्ज । तराई मधेसको साझा साँस्कृतिक धरोहरको रूपमा मनाइने छठ पर्वमा जलाशय र प्राकृतिक स्रोत साधनको विशेष महत्त्व रहेको छ । छठ पर्वको मुख्य दिन भनेर मानिने साझपख र बिहान जलाशयमा प्रवेश गरि सुर्यलाई अर्घ दिने चलन रही आएको छ ।
देशभरमा प्रसिद्ध रहेको वीरगन्जका छठ घाटहरु विशेषगरी सिर्सिया नदीको किनारमा अवस्थित छन् । विगत देखिनै सिर्सिया नदी किनारमा छठ हुँदै आएपनि पछिल्लो केही दशकदेखि उद्योगीहरुले कलकारखानाबाट निस्केको फोहोर पानी सोझै नदीमा मिसाउँँदा छठ वर्तालुुले समस्या भोग्नुपरेको हेरिन्थ्यो ।
वीरगन्ज महानगर क्षेत्राधिकार भएर बग्ने सिर्सिया नदी प्रदुषण मुक्त बनाउन महानगर प्रमुख राजेशमान सिंह निर्वाचित भएदेखिनै सरसफाइमा विशेष ध्यान दिनुका साथै बेलाबखत अनुगमन, दण्ड जरिवाना, बैठक तथा जनचेतनामूलक कार्यक्रम गर्दै आएका छन् ।

विभिन्न प्रयासले हाल नदी सफा देखिएपनि तराई मधेसको महापर्वलाई ध्यानमा राखी प्रमुख सिंहकाे कार्यकक्षमा बसकाे बैठकमा प्रमुख सिंहले छठ सम्म कुनै बहानामा कलकारखानाबाट निस्किने फाेहाेर पानी सिर्सिया नदीमा नछाेडन निर्देशन दिएका छन् ।
वीरगन्ज महानगरको अग्रसरतामा मंगलबार बसेको सरोकारवाला उद्योगीहरुको बैठकमा उद्योगका सञ्चालकहरुले छठ पर्बसम्म सिर्सिया नदीमा प्रदु्षण र फोहोर पानी बिर्सजन नगर्ने प्रतिबतद्धता जनाएका हुन् ।
उद्योगीहरुले प्रतिबद्धता जनाएपनि महानगरको टोलीले अनुगमन गर्ने र अनुगमनमा फाेहाेर पानी फालेकाे भेटिए कडा कार्यवाही गरिने वातावरण शाखाका प्रकाश एैरेले जानकारी गराए । बैठकमा प्रमुख सिंह, निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण तथा कलकारखानाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

वीरगन्जको लाइफ लाइनका रुपमा रहेको सिर्सिया नदी विगत तीन दशक देखि प्रदुषणको सिकार बन्दै आएको थियो । पर्सा–बारा औद्योगीक कोरिडोरमा रहेका मध्ये करिब ४५ उद्योगहरुले उद्योगबाट निस्कने फोहोर जन्य पदार्थ र रसायनयुक्त फोहोर पानी सिधै नदीमा बिसर्जन गर्दै आएका थिए ।
नदीलाई प्रदुषण मुक्त बनाउने अभियान थालेको वीरगन्ज महानगरपालिकाले पाँच वटा उद्योगहरुलाई जनही तीन तीन लाख रुपैयाँका दरले जरिवाना गर्दासमेत उद्योगहरुले नदीमा फोहोर र प्रदुषित पानी सिधै बिसर्जन गर्दै आएकोमा पछिल्लोपटक ती उद्योगहरुमा महानगरले दण्ड स्वरुप फोहर थुपारेपछि नदी सफा देखिन थालिएको स्थानीयले जिकिर गरे ।







