Categories समाचार

नेपाली सेनालाई हेलिकोप्टर स्काई ट्रक दिँदै अमेरिका

Advertisement

काठमाडौं । अमेरिकाले नेपाली सेनालाई दुईवटा हेलिकोप्टर र दुईवटा जहाज (स्काई ट्रक) दिने भएको छ। अमेरिकी सरकारले दिने ती हेलिकोप्टर र स्काई ट्रक विपद् प्रतिकार्य र सेनाको हवाई क्षमता बढाउन प्रयोग गरिनेछ। अमेरिकाले नेपाली सेनालाई करिब १३ अर्ब ३८ करोड रुपैयाँ बराबरको सैन्य सहायताअन्तर्गत ती जहाज र हेलिकोप्टर उपलब्ध गराउने भएको हो।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गौरवकुमार केसीले अमेरिकाले दुईवटा जहाज र दुईवटा हेलिकोप्टर दिने जानकारी प्राप्त भएको बताए। ‘अमेरिकाले नेपाली सेनालाई दुईवटा स्काई ट्रक र दुईवटा वेल हेलिकोप्टर दिने जानकारी प्राप्त भएको छ। ल्याउने प्रक्रिया सुरु हुँदैछ भन्ने लागेको छ। विस्तृतचाहिँ जानकारी छैन’, प्रवक्ता केसीले भने।

Advertisement

गत साउन ३२ गते नेपाल आएकै बेला अमेरिकी व्यवस्थापन तथा स्रोतसम्बन्धी उपविदेशमन्त्री रिचार्ड बर्माले नेपाली सेनालाई दुईवटा जहाज (स्काई ट्रक) र दुईवटा वेल हेलिकोप्टर दिने जानकारी गराएका थिए। त्यसबेला उनले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँगको भेटमा सैन्य सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

Advertisement

‘अमेरिकी उपविदेशमन्त्रीले नेपाल सरकारलाई विपद् प्रतिकार्यका लागि सैन्य सामग्रीअन्तर्गत दुई स्काई ट्रक र दुई वेल हेलिकोप्टर दिने प्रतिबद्धता जनाएका थिए। यसका लागि विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ’, नेपाली सेनाका प्रवक्ता केसीले भने।

प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री देउवासँगको भेटमा अमेरिकी उपविदेशमन्त्री रिचार्ड बर्माले ती जहाज र हेलिकोप्टर विपद् प्रतिकार्यका लागि अनुदान सहयोगस्वरूप नेपाली सेनालाई दिने प्रतिबद्धता जनाएका थिए।

प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजागाईंले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँगको भेटघाटमा अमेरिकी उपविदेशमन्धी बर्माले यस्तो सहयोग गर्ने प्रतिबद्धता जनाएको बताए। ‘अमेरिकी उपविदेशमन्त्री रिचार्ड बर्मा नेपाल भ्रमणमा रहँदा प्रधानमन्त्रीसँगको भेटमा नेपाल सरकारलाई विपद् प्रतिकार्यका लागि सैन्य सामग्रीअन्तर्गत दुई स्काई ट्रक र दुई वेल हेलिकोप्टर दिने प्रतिबद्धता जनाउनुभएको हो’, प्रेस संयोजक बजगाईंले भने। यो समाचार नागरिक दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *