वीरगञ्ज । पूर्व क्षितिजबाट उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि चारदिने छठ पर्व सकिएको छ । बिहीबार साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका ब्रतालुहरुले आज बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएका हुन् । यससँगै सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईमधेसवासीको महान चाड छठको उल्लास सकिएको छ ।
वीरगञ्जको घडिअर्वा पोखरी, स्वीमीङ पुल, नगवा पोखरी, मुर्ली, छपकैया, रामगढवा, बहुवरी, तेजारथ टोल, चिनी मिल आवासक्षेत्र, पिपरा, परवानीपुर, सुखचैना लगायत ग्रामीणक्षेत्रका पोखरी तलाउहरुमा छठको विशेष आकर्षण देखिएको थियो ।
कात्तिक शुक्ल षष्ठी र सप्तमीका दिन सूर्यलाई विशेष विधिपूर्वक अर्घ दिएर छठ पर्व मनाइन्छ । ‘सँझिया घाटे’ भनिने षष्ठीको दिनलाई छठको मुख्य दिन मानिन्छ । छठ पर्व विशेष गरी नेपालको मध्य र पूर्वी तराईमा मनाईने गरिएको भएपनि पछिल्लो समयमा काठमाडौं, हेटौंडा, चितवन लगायतका केही पहाडी र भित्रि मधेशका जिल्लामा समेत उल्लासका साथ मनाउने गरिन्छ ।
छठपूजामा सूर्य भगवान र छठी मातालाई पूजापाठ र अर्य दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ । यस्तै पातसहितको मुला, अदुवा र बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानीसिंगडा, सुथनी, उखु लगायतका फलफूल पनि चढाउने गरिन्छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइनुको साथै सन्तान सुख प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रही आएको छ ।
चैतमा पनि छठ पर्व मनाइन्छ । कतिपयले भाकल पूरा भएपछि छठको व्रत बस्ने गरेका छन् भने कतिपयले मनोकांक्षा पूरा होस् भनेर छठी माता र सूर्यको आराधना गर्दछन् ।
प्रकृतिको छैठौं वंशले उत्पन्न भएकी ब्रम्हाकी मानसी पुत्रीलाई षष्ठीदेवी भनेर चिनिन्छ । स्वामी कार्तिकेयको श्रीमती नै छठी माता भएको सँस्कृतिविदहरु बताउँछन् । बालदा षष्ठी अर्थात बालक दिने र बालककको पूरा हेरचाह गर्ने भनेर छठीमाता चिनिन्छ । छठमा सुर्यको उपासनासँगै उनै देवीको पूजा गरिन्छ ।


