वीरगञ्ज । वीरगञ्जस्थित डीएभी रुक्मिणी बनारसी केडिया स्कूलमा आजदेखि तेस्रो संस्करणको शंकरलाल केडिया मेमोरियल अन्तरविद्यालय फुटबल प्रतियोगिता सुरु भएको छ । यो प्रतियोगिता विद्यालयका संस्थापक दिवंगत शंकरलाल केडियाको ८९ औं जन्मजयन्तीको अवसरमा आयोजना गरिएको हो ।
डीएभी रुक्मिणी बनारसी केडिया स्कूलका प्रिन्सीपल राकेश मिश्रले जानकारी दिँदै भने, “यो प्रतियोगिता आज, आइतबार, पुष ७ गतेदेखि पुष १३ गतेसम्म सञ्चालन हुनेछ ।” प्रतियोगितामा वीरगञ्जका विभिन्न विद्यालयहरू बीच रोचक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।
प्रतियोगिता खेलकुद र खेलभावनालाई प्रोत्साहन गर्दै विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने एक उत्कृष्ट अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको प्रिन्सीपल मिश्रले बताए । उनकाअनुसार विद्यालयले हरेक वर्ष यो प्रतियोगिता आयोजना गर्दै आएको छ र यसको निरन्तरताको रूपमा यस वर्ष तेस्रो संस्करण सुरु गरिएको हो । प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीले सहभागिता जनाउन सक्नेछन्, र प्रत्येक टोलीमा ९ जना खेलाडी रहनेछन् ।
यस वर्षको प्रतियोगितामा वीरगञ्जका १२ वटा विद्यालयहरू सहभागी भएका छन् । ती विद्यालयहरूमा डीएभी रुक्मिणी बनारसी केडिया स्कूल, ज्ञान्दा एकेडेमी, साउथ जोन स्कूल, मनकामना स्कूल, कादम्बरी एकेडेमी, डिपिएस स्कूल, मुन लाइट स्कूल, जीवन ज्योति, लिटिल फ्लावर, मालिनी एकेडेमी, मेरि गोल्ड स्कूल, र काभेरी एकेडेमी रहेका छन् ।
कार्यक्रमको उद्घाटन पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले दीप प्रज्वलन गर्दै गरेका थिए । यस अवसरमा विद्यालयका संचालक समिति उपाध्यक्ष डाक्टर विजय अग्रवाल, केडिया परिवारका सदस्य सुनिल केडिया, सन्दिप केडिया, सौरभ केडिया, दिनेश बन्का, केडिया आँखा अस्पतालका प्रशासन प्रमुख प्रकाश बर्मा, प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधान, वरिष्ठ उपाध्यक्ष सरोज चौधरी, उपाध्यक्ष शिव गुप्ता, प्याब्सन वीरगञ्ज महानगर अध्यक्ष राहुल श्रीवास्तव लगायत विभिन्न विद्यालयका प्रमुख र प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
आजको खेल डीएभी स्कूल र मनकामना मा.बि. बीच भएको थियो, जसमा मनकामना म.बि.ले डीएभी स्कूललाई २–० को अन्तरले पराजित गरेको छ । सो खेलको प्लेयर अफ दि म्याच मनकामना मा.बि.का जर्सी नम्बर १२, हिमेश चौधरी घोषित भएका छन् ।
कार्यक्रममा डीएभी रुक्मिणी बनारसी केडिया स्कूलका प्रिन्सिपल राकेश मिश्रले स्वागत मन्तव्य व्यक्त गरेका थिए, भने कार्यक्रमको सहजिकरण शिक्षिका मेधा दधिजले गरेकी थिइन् ।






